पूर्वाञ्चल खबर
विराटनगर –१६ स्थित रानी भन्सार नाकामा युनिसेफको सहयोगमा फरेनले निर्माण गरी सञ्चालनमा ल्याएको तीनजनाले एकसाथ हातधुने स्टेशन विश्व हात धुने दिवसको अवसरमा विराटनगर महानगरपालिका वड नम्बर–१६ का वडाध्यक्ष मनोज सुब्बालाई हस्तान्तरण गरिएको छ । तीन महिनासम्म फरेनले सञ्चालन गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले हात धुने कार्य स्वास्थ्यका लागि अति उपयोगी रहेको बताउँदै कोविड–१९ को महामारीको सन्दर्भमा कोरोना संक्रणबाट बच्ने प्रभावकारी विधि रहेको बताए । जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक समेत रहेका पोखरेलले विश्व हात धुने दिवस पारेर हात धुने स्टेशन हस्तान्तरण गर्नु सराहनीय कार्य भएको बताए ।
कार्यक्रममा मानव अधिकार तथा वातावरण मञ्च(फरेन)का अध्यक्ष यज्ञपसाद शर्माले कोविड १९को प्रकोप विश्वमा बढिरहेको बेला सरकारलाई कोविड विरुद्ध लड्न सकेको सहयोग गर्ने उद्देश्यले युनिसेफको सहयोग तथा प्रदेश सरकारसँगको समन्वयमा सुनसरी र मोरङका २१ वटा स्थानमा हातधुने स्टेशन राखिएको जानकारी दिए । शर्माले नमूनाका रुपमा हातले नछोइ हात धुने स्टेशनहरु बनाई हस्तान्तरण गरिएको बताउँदै स्थानीय तथा प्रदेश सरकारले यो प्रविधिलाई विद्यालय तथा समुदाय तहमा विस्तार गरोस् अपेक्षा रहेको बताए ।
विराटनगर–१६ का वडाध्यक्ष सुब्बाले नयाँ प्रविधिको प्रयोग गरी बनाइएको सुरक्षित हात धुने स्टेशन सीमा नाकामा प्रभावकारी देखिएको बताउँदै आगामी दिनमा यसको व्यवस्थान र सञ्चालन वडा समितिले गर्ने प्रतिबद्धता जनाए । उनले सीमा नकालाई छानी हातधुने स्टेशन स्थापना गरी तीन महिनाभन्दा बढी समय सञ्चाल सरसफाइ गरी हस्तान्तरण गरेकोमा सामाजिक संस्था फरेनलाई धन्यवाद दिए ।
आजै विराटनगर बसपार्कमा समेत हात धुने स्टेशन हस्तान्तरण गएिको छ । फरेनले सुनसरी र मोरङका तीनवटा अस्पताल, एक स्वास्थ्य चौकी, १३ वटा क्वारेन्टीन तथा आइसोलेशन र चारवटा सार्वजनिक स्थानहरूमा सुरक्षित हात धुने स्टेशनहरु जडान गरेको जनाइएको छ ।