AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर खानेपानी आयोजनाले ३० वर्षे पुरानो प्रणाली फेर्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०८२, आईतवार १७:४०
108
Shares
विराटनगर / विराटनगरमा दशकौँ पुरानो खानेपानी संरचनालाई विस्थापित गर्दै एक लाख नगरवासीलाई शुद्ध खानेपानी पु¥याउने लक्ष्यका साथ अघि बढाइएको “विराटनगर खानेपानी गुणस्तर सुधार आयोजना’’ को काम तीव्र गतिमा अघि बढेको छ ।

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित यस आयोजना अन्तर्गत हालसम्म ९० प्रतिशत पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको छ ।

आयोजनाको निर्माण कार्य गरिरहेको जापानी कम्पनी सिमुजी कर्पोरेसनका अनुसार, कुल ५८ किलोमिटर नयाँ पाइप बिछ्याउनुपर्नेमा हालसम्म ५० किलोमिटरको काम सकिएको छ । कम्पनीका जनसम्पर्क अधिकृत तथा इन्जिनियर अरबिन्द कर्णले पाइप बिछ्याउने कामसँगै पाइपलाइन प्रेसर परीक्षण, हाउस कनेक्सन र इन्टर कनेक्सन जस्ता महत्त्वपूर्ण कामहरू पनि एकसाथ भइरहेको जानकारी दिए । उनका अनुसार, पछि सडक खन्नु नपर्ने गरी मेन लाइनबाट घर–घरमा पानी पु¥याउन आवश्यक कनेक्सनहरू नाला र फुटपाथसम्म निकालिएको छ । हालसम्म पाइप बिछ्याउन खनिएको ३ किलोमिटर सडक कालोपत्रे समेत गरिसकिएको छ ।

नेपाल खानेपानी संस्थान, विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाको प्रगति निर्धारित समयभन्दा ५ प्रतिशत छिटो भइरहेको बताए । विराटनगर–१ देखि १४ सम्मका बासिन्दालाई लक्षित गरी सञ्चालित यो आयोजनाले ३० वर्ष पुरानो वितरण प्रणालीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्नेछ ।

आयोजना अन्तर्गत, विराटनगरका चार स्थानमा कुल साढे ५२ लाख लिटर क्षमताका पानी भण्डारण ट्याङ्कीहरूको निर्माण पनि तीव्र गतिमा भइरहेको छ, जसको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । विराटनगर–५ मा १२ लाख लिटरको ओभरहेड र साढे चार लाख लिटरको अण्डरग्राउण्ड ट्याङ्की बनिरहेका छन् । यसैगरी, देवकोटाचोक, तीनपैनी र मुनालपथमा १२–१२ लाख लिटर क्षमताका थप ट्याङ्कीहरू निर्माणाधीन छन् । यी ट्याङ्कीहरूमा पानी आपूर्ति गर्न आवश्यक डिप बोरिङको काम भने सम्पन्न भइसकेको छ । यस आयोजनाको अर्को महत्त्वपूर्ण विशेषता भनेको महानगरका ३२ स्थानमा “फायर हाइड्रेन्ट’’ को जडान हो, जसले आगलागी जस्ता विपद्को समयमा पानीको सहज आपूर्ति सुनिश्चित गर्नेछ ।

सन् २००९ मा जाइकाले अध्ययन सुरु गरेको यो आयोजनाले विराटनगरमा हेपाटाइटिस महामारी फैलिएपछि राजनीतिक प्राथमिकता पाएको थियो । १० मार्च २०२२ मा अनुदान सम्झौता भई २०८१ वैशाख १२ गते निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार, यो आयोजना ३१ मे २०२६ (२०८३ जेठ १७) मा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर