पूर्वाञ्चल खबर
९३ औं वसन्त पार गरिसक्दा पनि रिजालको सक्रियतामा कमी आएको छैन । अझै पनि प्रेम प्रणयका गजल, कविता लेखनमा आएको छैन कमी । रिजालको साहित्यप्रतिको सक्रियताको सम्मान गर्दै विराटनगरका साहित्यकारहरुले उनकै घरमा साहित्य गोष्ठी गरेका छन् । रिजालको सम्मानमा आयोजित गोष्ठीमा स्रष्टाहरुले कविता, गीत, गजल सुनाए । यसरी सिर्जना सुनाउनेहरुमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, रामबाबु दाहाल, मधु पोखरेल, मीनकुमार नवोदित, लोचन रिजाल, लक्ष्मी पोखरेललगायत थिए ।
कविता वाचन हुनुभन्दा अगाडि रिजालको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै माला लगाइदिएर सम्मान गरिएको थियो । रिजाल स्वतन्त्रता सेनानी र समाजसेवी पनि हुन् । उनका विभिन्न कृति प्रकाशित छन् । “यो राम्रो अभियान सुरु भएको छ,” प्राज्ञ विवश पोखरेलले भने, “अन्य ज्येष्ठ नागरिकको घरमा पुगेर यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।” यो अभियानलाई साहित्यकार मात्रै नभएर अन्य क्षेत्रका ज्येष्ठ नागरिकको घरमा पनि गर्नुपर्नेमा प्राज्ञ दधिराज सुवेदीले बताए ।