पूर्वाञ्चल खबर
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरो जाँदा बेलङ्जाका होमबहादुर गाहाको घर पुरिएको हो । पहिरोमा परी हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छिन् । उनका श्रीमान भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोषकुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । उनीहरुको खोजी भइरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।