AArya
RUMPUM
animated ellipse animated ellipse

बुढीगंगा गाउँपालिकामा वैदेशिक रोजगारसम्बन्धी सरोकारवालालाई लक्षित क्षमता अभिवृद्धि तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०८२, मंगलवार १८:२१
45
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकामा वैदेशिक रोजगारसम्बन्धी सरोकारवालाहरूलाई लक्षित दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

पिपुल्स फोरमको आयोजनामा गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय निकायका कर्मचारी, कानुन व्यवसायी, महिला प्रतिनिधि लगायत २० जनाभन्दा बढी सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

समापन सत्रलाई सम्बोधन गर्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले वैदेशिक रोजगारीमा जानु अघि प्रत्येक युवाले आवश्यक जानकारीसहित तयारी गर्नुपर्नेमा जोड दिए। उनले भने, “विदेश जानुअघि स्वदेशी एयरपोर्टको प्रयोग गर्नुपर्छ, जसले धेरै समस्याबाट जोगाउँछ। साथै, सिपमूलक तालिम लिएर जाने युवाले मात्र सुरक्षित र दीर्घकालीन रोजगारी पाउने सम्भावना बढी हुन्छ।”

अध्यक्ष थापाले गाउँपालिकाले विभिन्न सिपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिँदै वैदेशिक रोजगारमा जाने युवाले त्यस्ता तालिमको लाभ लिनुपर्ने उल्लेख गरे। साथै कानुनी जानकारीबिना विदेशिएका धेरै युवाले समस्यामा पर्नु परेकाले कानूनसम्बन्धी सचेतना पनि अनिवार्य रहेको बताए।

यसैगरी, पिपुल्स फोरमका सल्लाहकार तथा अधिवक्ता सोमराज लुइटेलले वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई निःशुल्क कानुनी परामर्श र सहयोग गर्दै आएको जानकारी दिए। उनले भने, “विदेशमा ठगिएका वा पीडित बनेका नेपालीहरूको पक्षमा पिपुल्स फोरमले कानुनी सहायता र पैरवी गर्दै आएको छ। यसलाई अझ संस्थागत गर्दै लैजाने हाम्रो योजना छ।”

कार्यक्रममा पिपुल्स फोरमका सल्लाहकार अधिवक्ता कृष्णप्रसाद न्यौपानेले तालिम सहजीकरण गर्दै वैदेशिक रोजगारसँग सम्बन्धित कानुनी ढाँचा, जोखिम न्यूनीकरणका उपाय तथा अधिकार–कर्तव्यबारे जानकारी दिएका थिए। उनका अनुसार वैदेशिक रोजगारीमा जाने युवाले सम्झौता, भिसा प्रक्रिया, बीमा र श्रम करारबारे प्रष्ट बुझ्न आवश्यक छ।

समापन कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि चिरञ्जीवी लुटेलले मन्त्रालयले वैदेशिक रोजगार सुरक्षित बनाउन विभिन्न नीति तथा कार्यक्रम ल्याएको बताए। उनले गाउँपालिका स्तरमै यस्ता सचेतनामूलक तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

सहभागीहरूले तालिमले दिएको जानकारी उपयोगी भएको प्रतिक्रिया दिएका छन्। महिला सहभागी श्रृङ्खला कार्कीले भने, “विदेश जाने प्रक्रियाबारे महिलाहरू अझै बढी जोखिममा पर्ने भएकाले यस्तो तालिम अपरिहार्य छ। यसले हामीलगायत समुदायलाई ठगिने सम्भावना कम गर्छ।”

पिपुल्स फोरमले आयोजना गरेको यस तालिमले स्थानीय तहका सरोकारवालाहरूलाई वैदेशिक रोजगार प्रक्रियामा युवालाई सजग र सक्षम बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर