पूर्वाञ्चल खबर
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्ध पुरुषको शव परिवारले बुझेर दाहसंस्कार गर्न लैजाँदै गर्दा पीसीआर परीक्षण रिपोर्ट आज दिउँसो पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएको सार्वजनिक भएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीको जिम्मा लगाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले कोरोना पोजेटिभ देखिएको खबर आएपछि पुरुषको शव परिवारका सदस्य र नातेदारबाट फिर्ता गर्दै व्यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाइएको जानकारी दिए । मृत्यु भएका पुरुषको रिपोर्ट पोजेटिभ आएपछि शव जिम्मा लिएर लैजाने तथा मृतकको सम्पर्कमा रहेका आफन्त र परिवारका सदस्य तनावमा परेका छन् ।
पुरुषलाई डेंगुको समस्या देखिएको भन्दै भदौ ३ गते उपचारका लागि न्युरो अस्पताल ल्याइएको थियो । अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतले उपचारका लागि ल्याउँदा पुरुषमा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने र श्वासप्रश्वासको समस्या रहेको बताए । उनका अनुसार पुरुषको मृत्यु आज बिहान ६ बजेतिर भएको हो । मृत्युपछि पनि उपचारमा संलग्न चिकित्सकले शंका लागेर पुनः परीक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाएको उनको भनाइ छ । मृत्युपछि संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको स्वाबको भने रिपोर्ट दिउँसो २ बजे पोजेटिभ आएको जानकारी बस्नेतले दिए । तर परिवारका सदस्यले भने शव बुझेर १ बजेतिरै अस्पतालबाट लगिसकेका थिए । अघिल्लो रिपोर्ट नेगेटिभ आएकाले दोस्रो पटकको पोजेटिभ आउनै नसक्ने भन्दै परिवारले लगेर धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गर्छौ भनेपछि अस्पतालले पनि शव बुझाउनै पर्ने अवस्था आएको जानकारी बस्नेतले दिए ।