पूर्वाञ्चल खबर
बेलबारी नगरपालिका ५ कसेनीको लोहन्द्रा खोलामा दुई समूहबीच आज झगडा हुँदा एक जनाको मृत्यु भएको हो । घटनामा चार जना घाइते भएका छन् ।
दुइ समुहबीच झगडामा परि ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट टिचिङ हस्पिटलमा दिउँसो मृत्यु भएको हो ।
स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईसहितको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको हो । घाइते भएकाहरूको उपचार विराट टिचिङ हस्पिटलमा भइरहेको छ ।
सुरुमा चौधरीको समूहले धारिलो हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । दुई पक्षबीच बिहीबार साँझ सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डीएसपी राईले बताए ।
धारिलो हतियार प्रहरीले बरामद गरेको छ । घटनमा संलग्न तीन जना फरार रहेका छन् । फरार हुनेहरू दिनेश श्रेष्ठ, बिक्रम राई र सन्तोष मगर हुन् ।
आक्रमण गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालको नेतृत्वको टिमले फरार भएकाहरूको खोजी कार्य तीब्र बनाएको जनाएको छ ।