RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड फेयरमा उत्साहजनक सहभागिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०८३, शनिबार १९:४४
3
Shares
विराटनगर / विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा जारी विराट ट्रेड फेयरमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ ।

असोज २२ गतेदेखि सुरु भएको फेयरको तेस्रो दिनसम्म आइपुग्दा ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

फेयरमा दर्शकको सहभागिता र कारोबारको अवस्था आफूहरूले अपेक्षा गरेभन्दा राम्रो रहेको संघका अध्यक्ष प्रमोद अग्रवालले बताए। फेयरले विराटनगरको बजारलाई चलायमान बनाउनुका साथै दशैको समयमा किनमेल र मनोरञ्जनका लागि राम्रो अवसर प्रदान गरेको उनको भनाइ छ । ‘विराटनगरले पछिल्लो पाँच वर्षयता पहिलोपटक यस्तो गुलजार बजार देखेको होला । फेयरमा युवा पुस्ताको उल्लेख्य सहभागिता छ । दशैको मौसममा मेला कस्तो हुनुपर्छ भन्ने अनुभव गर्दै दर्शकले किनमेल र मनोरञ्जनको आनन्द लिइरहेका छन्,’ अध्यक्ष अग्रवालले भने ।फेयरमा उपभोक्ताका दैनिक आवश्यकताका सामग्रीको बिक्री बढी भइरहेको उनले जानकारी दिए। फेयरका स्टलहरूमा दर्शकको चहलपहल बढेको र कारोबारसमेत उत्साहजनक रहेको उनको भनाइ छ । फेयर सफल बनाउन सहयोग गर्ने विराटनगरवासीप्रति उहाँले आभार व्यक्त गरे ।

फेयरमा कुल १३० वटा स्टल रहेका छन् । तीमध्ये १०० वटा व्यावसायिक प्रयोजनका स्टल रहेको फेयर संयोजक श्याम पौडेल (भवेश)ले जानकारी दिए । अन्य स्टलमा खाद्य कम्पनी, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय र घरेलु उद्योगलगायतको सहभागिता रहेको उनले बताए ।

फेयरमा राखिएका विभिन्न सामग्रीका स्टलसँगै दैनिक आयोजना हुने सांगीतिक प्रस्तुतिले पनि दर्शकलाई आकर्षित गरिरहेको संयोजक पौडेलले जानकारी दिनुभयो । सांगीतिक कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहने गरेको उनको भनाइ छ ।

विराट व्यापार संघले १५ वर्षपछि व्यापार मेला आयोजना गरेको हो । असोज २२ गतेदेखि सुरु भएको फेयर असोज ३०गतेसम्म सञ्चालन हुनेछ । फेयरले स्थानीय व्यापार प्रवद्र्धन गर्नुका साथै विराटनगरको बजारमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर