खबर पूर्वाञ्चल
सुनसरी–मोरङ औद्योगिक करिडोरमा कोभिड–१९ संक्रमणपछि सुनसरीको दुहवी नगरपालिका–१ परास्टोकीमा २ अर्ब ५० करोड लगानीमा स्वस्तिक रोलिङ मिलले व्यवसायिक उत्पादन सुरु गरेको होे ।
करिडोरका पाँचजना साझेदारले रडको विलेटको समेत व्यवसायीक कारोबार गर्नेगरि उद्योग सञ्चालनमा आएको छ । यो कोरोनाकालपछि करिडोरमा थपिएको ठूलो लगानीको उद्योग रहेको उद्योगका निर्देशक रमेश राठीले जानकारी दिए ।
भारतबाट बिलेट आयात गरी फलामे डण्डी उत्पादन गर्ने अर्ध तयारी उद्योगको विकल्पमा स्वस्तिक रोलिङले कच्चा पदार्थमा आधारित उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालेको हो । आज मोरङको विराटचोकमा पत्रकार सम्मेलन स्वस्तिक रोलिङले नयाँ उत्पादनको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा उद्योगी राठीले ‘बजरङ्ग’ ब्रान्डमा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिम उत्पादन गरेर बजारमा पठाईसकिएको जानकारी समेत दिए । यसले परीक्षण उत्पादनकाल पूरा गरेर नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको जानकारी दिइएको छ । सरकारको मापदण्ड भित्र उत्पादन गरिरहेको उद्योगको क्षमता दैनिक ५०० टन रहेको छ ।
स्वस्तिक रोलिङले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, चयानल र आई बिमको उत्पादन सुरु गरेको छ । केही समय अघिसम्म बिलेट, एङ्गल, च्यानल र आइ बिममा पूर्णतया भारतीय उत्पादनमा निर्भर रहेकोमा पछिल्लो समय नेपाल यी उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा पुगेको छ ।
उद्योगका निर्देशक राठीले भने ‘नेपालमा खपत हुने एङ्गल, च्यानल र बिमको आयात करिव बन्द भइसकेको छ, कच्चा पदार्थमा आधारित फलाम उद्योग स्थापना भएसँगै यी वस्तुहरु नेपालमै उत्पादन हुन थालेका हुन् ।’ उद्योगी राठीका अनुसार धेरै प्रकारका एङ्गल र च्यानल नेपालमै उत्पादन हुन थालेको र नेपालमा उत्पादन नभइसकेका केही मात्र अहिले भारतबाट आयात भइरहेका छन् ।
उद्योगी राठीसहित राजकुमार गोल्छा, जीवन रिजाल, मदन रिजाल र फरहानको साझेदारी रहेको उद्योगले टीएमटी छड उत्पादनमा बढी ध्यान दिने अर्का साझेदार राजकुमार गोल्छाले जानकारी दिनुभयो । उद्योगले ७ एमएम देखि ३२ एमएम सम्मका टीएमटी छड उत्पादन गर्नेछ । नेपालका लागि यो नयाँ र अत्याधुनिक प्रविधि भएको गोल्छाले जानकारी दिए । छडमा ग्रिप्रिड उच्चस्तरको रहेकोले मसलाले बलियोसँग समात्न सक्ने र लचकदार रहेको भनाई छ ।
यो ५०० ग्रेडको रड भएको दावी छ । यूरोपियन टेक्नोलोजीको प्रयोग भएकोले उद्योगका मेसिन पूणर्तया अटोमेटिक प्रणालीमा आधारित रहेको अर्का सञ्चालक जीवन रिजालले जानकारी दिए । तौलको समानता र गुणस्तरमा एकरुपता रहेको र प्रयोगशालाको स्पेक्ट्रो मेसिनले कमेकल परीक्षण गरेपछि मात्रै डण्डी उत्पाद हुनेछ । यसले भारतको टाटा स्टिलबाट कच्चा आयात गर्ने भएको छ । स्पन्च आयात गरेर नेपालमा रहेको स्क्राब्ब प्रयोग गरिने भएको छ ।
ठूलाठूला प्रजोक्टको संभावना छ, जसलाई ध्यान दिएर उद्योगका उत्पादनहरु गर्ने लक्ष्य राखिएको छ, उद्योगी राठीले भन्नुभयो(अहिले उद्योगले ६० प्रतिशत उत्पादन गरिरहेको छ । प्रारम्भमा उत्पादनको माग बढेकोले माघदेखि शतप्रतिशत पुग्न देखिएको दावी छ । अहिले दैनिक ३०० जनाले रोजगारी पाईरहेको उद्योगले आगामी माघदेखि ६०० जनालाई रोजगार सिर्जना गर्ने भनाई छ ।