६ माघ, झापा/ झापाको भारतीय सिमावर्ती क्षेत्रमा छेपारो जस्तो देखिने दुर्लभ प्रजातीको टोके माउसुलीको तस्करी हुने गरेको पाइएको छ ।
भारतीय सुरक्षाकर्मीले भारतको आसामबाट भारतकै विहारस्थित किशनगञ्ज हुँदै नेपालको झापा ल्याउन लागिएको दुई वटा माउसुलीसहित २ जना भारतीय नागरिकलाई किशनगञ्जबाट पक्राउ गरेपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।
जुत्ताको कार्टुनमा लुकाएर ल्याएको टोके माउसुलीसहित भारतको आसाम कोकराझाड बस्ने शहर अली र हमीदुल रहमान साकिनलाई नियन्त्रणमा लिएको भारतीय एसएसबीका डिप्टी कमाण्डर कुमार सुन्दरमले जानकारी दिनुभयो । पक्राउ परेकाहरुले किशनगञ्जका कपिलदेव भन्ने व्यक्तिलाई दिन माउसुली ल्याएको र कपिलदेव भन्ने व्यक्ति माउसुली नेपाल पठाउने काममा संलग्न हुनेसक्ने भारतीय सुरक्षाकर्मीको भनाइ छ ।
बरामद गरिएको माउसुलीको मूल्य २ करोड २४ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । बरामद गरिएको टोके माउसुली नेपालको बाटो हँुदै चीन लैजान लागिएको अनुसन्धानबाट खुलेको भारतीय सुरक्षाकर्मीहरुले जनाएका छन् ।
दुर्लभ प्रजातिको टोके माउसुलीलाई औषधी बनाउन प्रयोग गर्ने गरेको बताइएको छ । यसबाट बन्ने औषधीले क्यान्सर जस्ता रोग निको हुने भएकाले यसको अन्तर्राष्ट्रिय बजारमा निकै माग रहेको बताइन्छ ।