RUMPUM
animated ellipse animated ellipse

मदन भण्डारी स्मृति भलिवलको उपाधि सोलु र सुनसरीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७६, शनिबार २१:०७
3
Shares

विराटनगर / प्रदेश १ स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बु र सुनसरी संयुक्त रूपमा जितेको छन् ।

सोलुको सल्लेरीमा आज समापन भएको उक्त प्रतियोगितामा वर्षाले बिथोलेको प्रतिस्पर्धात्मक खेलमा आयोजकले दुवै टिमलाई उपाधि दिने घोषणा गरेको हो ।

फाइनल खेलको पहिलो र दोश्रो सेटमा लगातार जित हात पारेको सोलुखुम्बु तेश्रो र चौथो सेटमा लगातार पराजित हुन पुग्यो । बर्षाको बीचमा खेलाइएको फाइनलको पाँचौं सेटको खेल चलिरहँदा असिनासहित भारी बर्षा भएपछि सोलुखुम्बु र सुनसरी संयुक्त रुपमा विजेता घोषित भएका हुन् ।

असिनाका साथमा भारी बर्षा हुन अघि पाँचौ सेटको खेलमा दुवै टिमको ५÷५ अंकको बराबरी रहेको थियो । संयुक्त रुपमा प्रथम हुन सफल सोलुखुम्बु र सुनसरी दुवै टिमले १ लाख ५१ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

फाइनल विजेता टिमलाई नेकपा संसदीय दल प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सभाको तर्फवाट थप ५० हजार नगद पुरस्कार प्रदान गरेका थिए ।

यस अघि तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा भोजपुरलाई पराजित गर्दै झापा बीजयी भयो । तेश्रो र चौथो स्थान प्राप्त गर्न सफल झापा र भोजपुरलाई क्रमशः नगद ५१ हजार र २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलको माध्यमबाट प्रदेश १ को समृद्धिकालागि सरकार लागिपरेको बताए । प्रदेशमा खेल खेलेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिन सरकार लागिपरेको उनले बताए ।

प्रदेश सरकारले ४२ करोड रुपैंयाँ खेलकुदको लागि छुट्याएको बताउँदै एकीकृतरुपमा खेलकुदलाई अगाडि बढाउने उनले बताए । मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष सागर थापाले खेलबाट राजनीतिक सचेतनासमेत जागृत गर्ने उद्देश्यले यो भव्य खेलकुद आयोजना गरिएको बताए । प्रतियोगिताको विजेता टिमका खेलाडीहरुलाई प्रदेश नम्बर १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए । मंगलबारदेखि सोलुखुम्बुको योङ्ग स्टार क्लवमा शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा अनिश राई सुनसरी र सञ्जय बस्नेत सोलुखुम्बु घोषित भए । उत्कृष्ट ब्लकर सनुसरीका सुरज चौधरी उत्कृष्ट स्पाइकर सोलुका सुमन मगर, उत्कृष्ट सेटर सोलुकै अर्जुन राई, उत्कृष्ट लिबरो सुनसरीका बसन्त राई, उत्कृष्ट सर्भर झापाका भरत यादव, उदयमान खेलाडी भोजपुरका रोमन बस्नेत घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर