पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रदेश १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले बताउएका छन् ।
आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजित प्रदेश १ सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सरकारले हासिल गरेको प्रगतिको संक्षिप्त कितावलाई विमोचन गर्दै प्रदेश प्रमुख प्यासीले सरकारले मुख्यमन्त्री युवा उद्यमशीलता तथा सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पु¥याउनु सरकारको ठूलो उलब्धि रहेको बताए ।
शान्ति सुरक्षा र शिक्षामा सूचना प्रणालीले सरकारको काममा पारदर्शिता बढेको चर्चा गर्दै प्रदेश प्रमुख प्यासीले लोकतन्त्रिक मूल्यमान्यातामा आधारित समाजवादउन्मुख सरकारको नीति तथा कार्यक्रमले प्रदेशका जनता सुखी एवं समुन्नत बन्ने विश्वास व्यक्त गरे । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश सरकारले लिएको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख प्यासीले जनताको आवश्यकता, समानता र समतामूलक समाज निर्माण गर्न प्रदेश सरकार अघि बढिरहेको आफूले पाएको कुरामा जोड दिए ।
संघीयता कार्यान्वयसँगै प्रदेशको विकासका लागि गरिएको कामलाई उल्लेखनीय उपलब्धीको रुपमा प्रदेश सरकारले लिएको जनाएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको उपलब्धि सार्वजनिक गर्दै २ वर्षमा धेरै उपलब्धि प्राप्त गरेको दावी गरे । उनले संरचना विहीन अवस्थामा खडा भएको प्रदेश सरकारले विभिन्न चुनौती, अप्ठ्यारालाई पार गर्दै अवसरको रुपमा प्रयोग गरेको बताए ।
सिंहदरवारमा केन्द्रित शासन स्थानीय तहमा पुगेको चर्चा गर्दै मुख्यमन्त्री राईले सरकार प्रदेश संरचनालाई व्यवस्थित बनाउँदै लगेको बताए । सरकार सुदूर भविष्यका लागि दीर्घकालीन योजना र कार्यक्रमका साथ अघि बढिरहेको बताउँदै ७३० दिनमा सरकारले ठूलो उपब्धि हासिल गरेको धारणा राखे । जनताका असीमित चाहनालाई पूरा गर्न प्रयाप्त समय भएपनि जनताका न्यूनतम आवश्यकता प्रदेश सरकारले सम्बोधन गरेको मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारले ३९ वटा कानून बनाइसकेको जानकारी समेत दिए ।
मुख्यमन्त्री राईले प्रदेश राजधानी तोक्नु, स्वीस सरकारको एक अर्व अनुदान सहयोग प्राप्त गर्नु, आयोजना बैँक स्थापना गरी २६ वटा परियोजना समावेश हुनु सरकारको ठूलो उपलब्धि रहेको बताए ।
मुख्यमन्त्री राईले सहमति र सहकार्यको अनुपम नमूना प्रदेश सरकारले देखाएको चर्चा गर्दै अगामी वैशाखमा लगानी सम्मेलन गर्नलाई सरकार तयारी गरिरहेको जानकारी दिए । उनले सरकारले सन्तुलन विकास नीतिलाई अपनाएको प्रसङ्ग उल्लेख गर्दै २७ किमी बाटोमा कालोपत्रे भएको, १२९ किमी ग्राभेल बाटो बनेको र १० वटा मोटरेबल पुल निर्माण हुनु खुशीको कुरा हो भन्नुभयो । जनता आवास कार्यक्रम अन्तर्गत १७१ वटा घर निर्माण भएको र विकासमा २५ प्रतिशत खर्च हुनु सकारात्मक हो भन्दै मुख्यमन्त्री राईले विकास र सुशासनमा जनताको भरोसा बढाउने धारणा राख्नु भयो । उनले स्वस्थ एवं वस्तुनिष्ठ आलोचनालाई प्रदेश सरकारले स्वागत गर्ने भन्दै विकास र समृद्धिको यात्रामा सबैले सहयोग गर्नु पर्ने अपील गरे ।