पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको आरोशण गुरुकुलमा आजदेखि ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ ।


प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा महाभोज मञ्चन गरेको हो । भारतमा आयोजित भारत रंगमहोत्सवमा छनौट भएर जानेक्रममा मण्डलाले विराटनगरमा नाटक मञ्चन गरेको हो ।



हिन्दी साहित्यकार मन्नु भण्डारीको उपन्यासलाई नेपाली भाषामा नाट्य रूपान्तरण विप्लव प्रतीकले गरेका हुन् । रंगकर्मी अनुप बरालले निर्देशन गरेको सो नाटक बिहीबार दिउँसो पनि मञ्चन हुनेछ । जनतालाई भोटबाहेक केही नदेख्ने राजनीतिकर्मी र बाँचुञ्जेल उत्पीडनमा पारिएकाहरूको कथा देखाएको छ नाटक ‘महाभोज’ले । गरिब जनताको लासमाथि हुने राजनीतिमा नाटक केन्द्रित छ ।



लगभग ४० वर्षअगाडि लेखिएको ‘महाभोज’लाई तीन ‘पी’मा बुनिएको छ– प्रेस, पोलिटिक्स र पुलिस । राजनीति, प्रहरी र पत्रकारिता कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रब्यूह भित्र जनता कसरी कैद छन् भन्ने कुरा नाटकमा देखाइएको छ ।

नाटक हेर्न प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रदेश–१ भरिका रंगकर्ममा सक्रिय कलाकार, साहित्यकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो ।

नाटक हेरेपछि बोल्दै मुख्यमन्त्री राईले नाटकले देशको वर्तमान अवस्थालाई देखाएको बताए । गत भदौमा काठमाडौंस्थित मण्डला नाटकघरमा मञ्चन भएको नाटक महाभोज समीक्षात्मक रूपमा सफल मानिएको सो नाटक दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने भारत रंग महोत्सवको २१ औं संस्करणमा माघ २६ गते नयाँ दिल्लीमा र माघ २८ गते देहरादूनमा मञ्चन गरिने कार्यक्रम रहेको छ ।
नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, वुद्धी तामाङ,राजन खतिवडा, दिया मास्के, प्रदीपकुमार चौधरी, विजय बराल, मिलन कार्की, आर्जेश रेग्मी, सागर दाहाल, प्रमिला खनाल, सोमनाथ खनाल, सन्दिप श्रेष्ठ, रिजन परियारलगायत कलाकारहरूको अभिनय रहेको छ ।तस्वीरहरु पुष्पराज थपलिया