पूर्वाञ्चल खबर
विराटनगर / मुलुकमा लगानी गरी हसिँलो मुहार बनाउने ट्रक व्यवसायीहरुलाई राज्यले सम्मान गर्ने गरेको प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले बताएका छन् ।
आज विराटनगरमा विराटनगर ट्रक व्यवसायी संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनको उद्घाटन गर्दै प्रदेश प्रमुख प्यासीले यो उद्यमीहरुको समूहले रोजगारी प्रदान गर्नुका साथै मुलुकको विकास निर्माण ठूलो योगदान गरेको बताए ।
खर्वो लगानी रहेको यो संगठनमा रहेका विभिन्न समस्यालाई समाधान गर्न समन्वयकारीको भूमिका खेल्ने बताउँदै प्रदेश प्रमुख प्यासीले व्यवसायलाई अझ प्रतिस्पर्धी भई सफलता प्राप्त गर्न आग्रह गरे ।
प्रदेश प्रमुख प्यासीले विगतको शासन प्रणालीलाई परिवर्तनमा व्यवसायीहरुले लडेको ठूलो भूमिकाको चर्चा गर्दै उनले अवको लडाई भनेको मुलुकको समृद्धिका लागि उच्चमनोवलका साथ कार्य गर्नु पर्नेमा जोड दिए ।
प्रदेश प्रमुख प्यासीले वर्तमान सरकार हामी तपाईले निर्माण गरेको हो भन्दै व्यवसायीहरु संगठित भएर सरकारलाई विवेकपूर्ण कार्य गराउन सहयोग आग्रह समेत गरे ।
नेपाल काङ्गेस प्रदेशका प्रमुख सचेतक केदार कार्कीले मुलुकमा ढुवानी सहजताले रोजगारी र व्यापार वृद्धि भएकाले उनीहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा ) मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले राज्य सञ्चालनको राजश्वमा व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देल, महासचिव लोकनाथ पोखरेल, नेपाल ट्रक व्यवसायी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले तीन तहको सरकारको व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको, नेपाल – भारत दुई पक्षीय आधारमा पारावहन हुनुपर्ने ,सवारी साधन सञ्चालनलाई व्यवस्थित गरी व्यवसायलाई धरासायी बनाउने आर्थिक नीति सच्चाउनु सरकार क्रियाशिल हुनुपर्ने बताए ।
नेपालमा अहिले ६५ हजार मालवाहक सवारीका साधनहरु सञ्चालनमा रहेका छन् भने विराटनगर ट्रक व्यवसायी अन्तर्गन तीन सय ट्रक सञ्चालनमा रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ।