२ माघ, विराटनगर/ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले एकै प्रकृत्तिका कलेजहरुलाई मर्ज गरिनुपर्ने बताएका छन् ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयको विकासमा लागि विराटनगरमा रहेको स्नातकोत्तर क्याम्पस र महेन्द्र मोरङ क्याम्पसलाई गाभेर अगाडि बढ्नुपर्नेमा जोड दिए । एकै प्रकृतिका क्याम्पसहरु गाभिएमा विश्वविद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउनुका साथै प्रशासनिक खर्चसमेत घट्ने भएकाले यसतर्फ विश्वविद्यालयले ध्यानदिनुपर्ने बताए ।
उनले अझै पनि कतिपय विश्वविद्यालयहरुका कतिपय विषयका कक्षामा विद्यार्थीभन्दा प्राध्यापकहरुको संख्या बढी रहेकाले यस्ता प्राध्यापकहरुलाई सौहार्दपूर्ण वातावरणमा विश्व विद्यालयले विदाइ गर्नुपर्ने बताए । कार्यक्रममा महेन्द्र मोरङ आदर्श बुहुमुखी क्याम्पसका प्रमुख महेन्द्रनारायण यादव, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका योजना प्रमुख हिरण्य गौतम, नेपाल लेखामान बोर्डका सदस्य मोहन सुवेदीलगायतले मन्तव्य राखेका थिए । as