स्थानिय निर्वाचन गराउन सरकारको तयारी-सञ्चारमन्त्री कार्की
पूर्वाञ्चल खबर
२ माघ २०७३, आईतवार १९:२१
3
Shares
फाइल तस्वीर
२ माघ, विराटनगर /सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गराउनका लागि सरकारले तयारी सुरु गरिसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज स्थानिय सञ्चाकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले निर्वाचनका लागि निर्वाचनसम्बन्धी प्रचलित कानुन र सुरक्षा व्यवस्था सम्बन्धमा भित्री तयारी पूरा गरिसकेको बताए । मन्त्री कार्कीले प्रतिपक्ष दल र मधेसी मोर्चालाई सहमतिमा ल्याएर केही दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
सञ्चारमन्त्री कार्कीले संविधानभित्र विमती र गुनासा छन् भने संसदभित्रबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रतिपक्ष एमालेलगायतका दलहरुले संसदीय पद्धतिभित्र रहेर अघि बढ्नुपर्ने बताए । उनले संविधान संशोधनको प्रस्ताव संसदनमा प्रवेश गरिसकेकाले दलहरुको सहमतिमा नै प्रस्ताव पारित हुने विश्वास व्यक्त गरे ।
वर्तमान सरकार बहुमतका लागि पुनःगठन नहुने बताउँदै उनले एमालेसहितको बृहत सरकार बनाउन वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे । उनले बाहिर आएजस्तो सरकार पुनःगठनको हल्ला निराधार भएको उल्लेख गर्दै संविधान कार्यान्वयन र निर्वाचन नभएसम्म सरकार पुनःगठन नहुने उल्लेख गरे ।