पूर्वाञ्चल खबर
प्रदेश सरकारको ७५ प्रतिशत लगानी र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्याेदय नगरपालिकाबीच २३ करोड लागतमा केन्द्र निर्माण गर्ने समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।
मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव डा.विमलकुमार निर्मल र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरे ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले चियाको राजधानी भनेर चिनिने सूर्याेदयमा बन्ने टीटेष्टिङ हाउसले चियाको प्रवद्र्धन र गुणस्तरीय उत्पादन साथै बजारीकरणमा सहयोग पुग्ने बताए ।
प्रदेश सरकार कृषि क्षेत्रको विकासमा लागेको पनि मुख्यमन्त्री राईले बताए । सूर्याेदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीसमेत घोषणा गरिसकेकोले यो केन्द्र निर्माणले थप सहयोग पुग्ने बताउँदै मुख्यमन्त्री राईले नेपालको कृषि उत्पादनबाट निर्यात बढाउनसमेत मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थाेडक्स चिया उत्पादन गर्दै आएको सूर्याेदयले यो निर्माणसँगै चियाको बजारिकरण प्रवद्र्धनमा उल्लेख्य उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । सूर्याेदय नगरपालिकामा वार्षिक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कार्य प्रारम्भ गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । प्रदेश सरकारले सो केन्द्र निर्माणका लागि यो वर्ष ५ करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयका प्रवक्ता उप्रेतीले जानकारी दिए । यसको विस्तृत परियोजना पछि सार्वजनिक गरिनेछ ।