पूर्वाञ्चल खबर
खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको आज बिहान मृत्यु हुन पुग्यो । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले मंगलबार बिहान सामान्य अवस्थामै दोस्रो सन्तानका रुपमा छोरो जन्माएकी थिइन् ।
चिकित्सकका अनुसार जन्मिएका बेला तीन किलो तौल भएका शिशुको स्वास्थ्य अवस्था राम्रो थियो । सामान्य अवस्थामै जन्मिएका शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्था राम्रो रहेको भन्दै बुधबार अस्पतालले डिस्चार्ज दिने तयारी गरेको थियो । तर बुधबार बिहान साढे ५ बजे शिशुको मृत्यु भएपछि परिवार तनावमा प¥यो । जन्मिएको २४ घण्टासम्म चिकित्सकले एक पटक पनि नहेरेको र स्वास्थ्य अवस्था नबुझेका कारण बच्चाको मृत्यु भएको दीपकले बताए ।
विराटनगरको कान्तिपुर कलेजका सञ्चालक समेत रहेका उनले मंगलबार रातिदेखि भर्खर जन्मिएको छोरो कुनै पीडा भए जस्तो गरेर रुने गरे पनि स्वास्थ्यकर्मीले चासो नदिएको गुनासो गरे । ‘बुधबार बिहान ४ बजेदेखि रुन छाडेको छोरो चिसो र निलो हुँदै गएपछि आत्तिर नर्सलाई सुनाएँ,’ उनले भने, ‘त्यतिबेला धेरै खोजी गरे पनि डाक्टर भेटिएनन् ।’
अस्पतालका विभिन्न वार्ड चाहरे पनि चिकित्सक नभेटिएको र डेढ घण्टापछि शिशुको मृत्यु नै भएको दीपकको भनाइ छ । ‘समयमै चिकित्सक भेटिएर उपचार पाउँदा–पाउँदै घटना भएको भए पनि चित्त बुझउने ठाउँ हुने थियो,’ उनले भने, ‘तर भर्खर जन्मिएको बच्चाका लागि डेढ घण्टासम्म खोजी गर्दा पनि चिकित्सक भेटिएन् ।’ कुनै समस्याले च्यापेको र जन्मिएको २४ घण्टासम्म चिकित्सकले नहेरेका कारण घटना भएको उनको भनाइ छ ।
चिकित्सक खोजी गर्ने क्रममा एनआईसीयूमा पु¥याएपछि डा. सुजित यादव र मधु साहलाई भेटिएको र त्यतिबेला शिशुको मृत्यु भइसकेको उनको गुनासो छ । ‘एक घण्टा भन्दा बढी खोजे पनि चिकित्सक भेटिएनन्,’ दीपकले भने, ‘पछि भेटिँदा छोराको मृत्यु भइसकेको थियो ।’ समयमै उपचार पाउन सकेको भए छोरो बाँच्ने भन्दै उनले उपचारनै नपाएर घटना भएकाले यसमा अस्पताल र चिकित्सकको गम्भीर लापरबाही रहेको बताए ।
तर यो घटनालाई पैसाको लेनेदन गरेर मिलाइएको छ । शिशु पक्षकाले अस्पतालसँग दुई लाख ५० हजार रुपैयाँ लिएका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै दीपकका आफन्त गजेन्द्र चौधरीलगायतले मृत शिशु नलैजाने भन्दै ‘बार्गेनिङ’ गरेपछि पैसा दिन अस्पताल बाध्य भएको अस्पतालका एक कर्मचारीले बताए । सुरुमा पाँच लाखको ‘बार्गेनिङ’ गरिएको थियो । अस्पताल डेढ लाख दिन सहमत भएको थियो । त्यसपछि दुई पक्षबीच दुई लाख ५० हजारमा कुरा मिलेको हो ।
अस्पतालले पैसा दिने भएपछि शिशुको दाहसंस्कार गरिएको काका राम राईले बताए । ‘अस्पतालकै लापरबाहीले घटना भएकाले हामीलाई पैसा दिइयो,’ उनले भने, ‘समयमै डाक्टर भेटेर उपचार पाएको भए भर्खर जन्मिएको बच्चा बाँच्ने थियो ।’ शिशुको मृत्युका कारण लफडा हुने अवस्था आएपछि अस्पताल पनि जति सक्दो चाँडो पैसामा कुरा मिलाउने पक्षमा देखिएको स्रोतले बतायो ।
अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ डा. अरुण गिरीले दूध सर्किएर वा हाइपोथर्मिया (शरीरको तापक्रम कम भएर हुने चिसोपना) का कारण शिशुको मृत्यु भएको हुन सक्ने बताए । डा. गिरीकाअनुसार बच्चाको शरीरमा ३६.५ देखि ३७.५ सेन्टिग्रेटसम्म तापक्रम हुन आवश्यक छ । ‘समयमै विशेषज्ञ चिकित्सकले भेट्न पाएको भए शिशुको स्वास्थ्मा देखिएको समस्याका बारेमा जानकारी हुने थियो,’ उनले भने ।
अस्पतालले पनि शिशुका आफन्तले खोजेका बेला पुग्न नसक्नु र शिशुको मृत्यु हुनुमा चिकित्सकको कमजोरी रहेको स्वीकार गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले समयमा डाक्टर नभेटेका कारण शिशुको मृत्यु हुनु दुःखद् भएको बताए । ‘नहुनु पर्ने घटना हुन पुग्यो,’ उनले भने, ‘सुत्केरीको स्याहारका लागि भनेर अस्पतालले केही रकम सहयोग गरेको हो ।’