पूर्वाञ्चल खबर
विराटनगर / कवि शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ कवितासंग्रहको आज विमोचन भएको छ ।
विराटनगरस्थित आहोरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रमकाबीच प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कविता संग्रहको विमोचन गरे । विमोचित कविता संग्रहको टिप्पणी गर्दै अग्रज साहित्यकार बलराम पोखरेलले आन्दोलनमार्फत राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार आउन नसकेको बताए । आन्दोलनको मर्म र भावनाविपरीत नेतृत्व अगाडि बढिरहेको विषयलाई संग्रहका अधिकांश कविताले उठान गरेको पोखरेलको भनाइ थियो ।
कवि सीमा आभासले विमोचित कवितासंग्रहमा २०५० सालयताका राजनीतिक क्रान्ति र जनयुद्ध सकिएपछिको धङधङतीका विषयवस्तुहरू कविताको माध्यमबाट समेटिएको बताइन् । उनले जनताले चाहेको शासन व्यवस्था अझै स्थापित नभएको भन्दै संग्रहका कवितामा विद्रोहसहित असन्तुष्टि अभिव्यक्त भएको उल्लेख गरिन् ।
कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले विमोचित कवितासंग्रहभित्र शीर्ष कविता ‘बधाई छ’ वाचन गरे । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १०६ पृष्ठको कविता संग्रहमा विभिन्न ५२ वटा कविताहरू समेटिएका छन् ।
कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, कवि भरत गुरागाईं, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति एवं प्रदेश सांसद शिवनारायण सिंहलगायतले शशिकिरणको कवितासंग्रह जनयुद्धको दस्तावेजका रूपमा आएको बताए ।
संग्रहका अधिकांश कविताले १० वर्षे जनयुद्ध र त्यसपछि नेताहरूमा देखिएको विचलनलगायत विषयलाई सशक्त रूपमा उठाएको छ । तत्कालीन माओवादी पृष्ठभूमिबाट जनयुद्ध र राजनीति क्षेत्रमा लामो समयदेखि योगदान दिंदै आएका शशिकिरण नेकपा मोरङको सचिवसमेत हुन् । उनी राजनीतिमा गणेश उप्रेती ‘सुशील’को नामबाट स्थापित छन् ।