पूर्वाञ्चल खबर
काठमाण्डौ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट एसोसियसन माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको एक दिनपछि पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा प्रेस विज्ञप्ती मार्फत गरेका हुन् । उनले आफूलाई साथ दिने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउण्डस्म्यान तथा शुभचिन्तक र परिवारलाई धन्यवाद दिँदै नयाँ सुरुआतका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।
पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए । उनले तत्कालिक कप्तान विनोद दासपछि कप्तानी गर्ने अवसर पाएका थिए ।
क्रिकेट टिममा २२ वर्षको उमेरमै कप्तानीको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता पायो । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका छन् ।
पारसले सन् २००४ मा अन्तराष्ट्रिय खेल मार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । मलेसिया विरुद्धको खेलमार्फत डेब्यू गर्दा पारसले पहिलो इनिङमा ४४ रन र १ विकेट लिएका थिए । नेपालले ९ विकेटले जितेको खेलमा उनले दोस्रो इनिङमा ब्याटिङ र बलिङ गरेनन् । उनले नेपालका लागि ६ एकदिवसीय, २७ टी–२० अन्तराष्ट्रिय, २ फस्ट क्लास, ४० लिस्ट ए र ५० टी–२० खेल खेलेका छन् ।