animated ellipse animated ellipse

मिटरब्याजी सुनिल साहले जबर्जस्ती हडपेको जग्गा सम्बन्धित व्यक्तिकै नाममा फिर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०८१, बिहीबार १२:०४
117
Shares
विराटनगर/ चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हडपेको विराटनगर – १८ लावाघाट र दमादिगी बस्तीका ६ जना सर्वसाधरणको जग्गा सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ ।

विराटनगर १८ का ५३ वर्षीया सुनिल साहले वर्षौदेखि हडपेको जग्गा फिर्ता दिएका हुन् । मिटरब्याजीले हत्याएको जग्गा फिर्ता पाएपछि यहाँका पीडितहरु उत्साहित देखिएका छन् । विराटनगर – १८ लावाघाटकी ६५ वर्षीया लक्ष्मी साह दंग छिन् । ८ वर्ष पछि मिटरब्याजीले हडपेको घरसहितको १७ धुर जग्गा आफ्नो नाममा आएपछि उनको परिवारमा खुसी छाएको छ ।

स्थानीय सुनिल साहको मिटरब्याजले बस्ती उठिबास हुन लागेको समाचार निरन्तर लेख्ने संचारकर्मी आएको जानकारी पाएपछि उनी हतपत्त घर आइपुगिन । घर आएलगतै आठ वर्षपछि गुमेको जग्गाको फिर्ता पाएको धनीपूर्जा घर भित्रबाट निकाल्दा उनी निकै खुशी थिइन् । खुशी साट्दै गर्दा आफूले पाएको दुःख पनि सुनाइन् । लक्ष्मीका अनुसार विराटनगर – १८ का ५३ वर्षीया सुनिल साहसँग १७ धुर घरसहितको जग्गा राजिनामा पास गरेर १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । लक्ष्मीका परिवारका अनुसार ऋण लिंदा मासिक सयकडा ३ रूपैयाँ ब्याज तोकिएको थियो । सुनिलले ऋण दिएको रकम १ लाखको लाखको ९ गुणा (९ लाख) को कपाली तमसुक गराए ।

लक्ष्मीका छोरा नारायणले १ लाखको ऋण दिएका वर्ष दिनमै दुई लाख रुपैयाँ बुझाएको थियो । तर साहु सुनिलले ९ लाख रुपैयाँ अझ बाँकी रहेको भन्दै घडेरी र कपाली तमसुक फिर्ता नगर्ने बताए । सुनिलले मानिसहरू लिएर आउँथे, र घडेरी खाली गराउन धम्की दिन्थे, गालीगलौज गर्थे । साहुको हप्कीदप्कीबाट आजित लक्ष्मीको परिवार घरघडेरी खाली गरेर अन्तै जाने मनस्थितिमा पुगेको थियो ।

पछिल्लो समय मिटरब्याज विरुद्ध आन्दोलन सुरु भयो । सरकारले त्यसलाई सम्बोधन गर्न अध्यादेश ल्याएपछि लक्ष्मी र उनको परिवारमा आशा पलायो । उनीहरु विराटनगर महानगरपालिका हुँदै त्यसपछि लक्ष्मीसहित लावाघाट र दिगादिगी बस्तीका आधा दर्जन मिटरब्याज पीडितले १० फागुनमा सुनिल साह विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिए ।

प्रशासनमा उजुरी दिएको पाँच महिनापछि आइतबार लक्ष्मीसहित ६ जनाको जग्गा सुनिलले फिर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा चार पटक छलफल गरेपछि सुनिलले लक्ष्मीहित विराटनगर १८ लावाघाटकी ५४ वर्षीया सुमित्रा देवी मण्डल, ५६ वर्षीया श्यामसुन्दर साह, मिनादेवी मण्डल र विराटनगर १८ दिगादिगीकी पुनम मण्डलको जग्गा फिर्ता गरिदिएको हो । दिलिप अमातको बढी रकम फिर्ता गरिदिएको छ ।

सुनिलले लक्ष्मीसहति अन्य पीडितकोे कपाली तमसुक फिर्ता गर्नुका साथै मालपोतमा गएर जग्गा फिर्ता गरिदिएको उनीहरुले बताए । ‘साहु सुनिलले लगभग बेइमानी गरिसकेको घडेरी र कपाली तमसुक यति सहजै फिर्ता गर्छन् भन्ने कल्पनै गरेका थिएनौं । तर मिटरब्याज सम्बन्धी अध्यादेश आउँदा गुमिसकेको हाम्रो घडेरी फिर्ता भयो । जग्गा फिर्ता दिलाइदिन संचारकर्मीहरुले निरुन्तर खबरदारी गरिदिनुभयो । जनप्रतिनिधि र कर्मचारीले सहयोग गरिदिनुभयो । सुसि साट्दै,’ लक्ष्मीले भनिन्, ‘सहयोग गर्ने सम्पूर्णप्रति हामी कृतज्ञ छौं ।’

यसरी जग्गा फिर्ता पाउनेमध्ये एक हुन् विराटनगर – १८ लावाटोलीका ५६ वर्षीय श्यामसुन्दर साह । उनले ५ कठ्ठा ६ धुर जग्गा सुनिललाई राजिनामा पास गरेर १ लाख लिएका थिए । उनले विभिन्न मितिमा १ लाखको ७ लाख ७५ हजार रुपैयाँ दिए । अझै सुनिलले २० लाख दिएपछि मात्रै जग्गा दिन्छु भन्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा छलफलमा १ लाख दिएपछि १४ वर्ष अगाडी राजिनामा पास गरेको जग्गा फिर्ता पाएको उनले बताए ।

यसैगरी मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै विराटनगर १८ दगादिगीका दिलिपकुमार अमातको १० कठ्ठा जग्गा विक्री गरिदिए । दिलिपले चार वर्ष अगाडी ६ लाख रुपैयाँ ऋण लिएका थिए । ६ लाखको तीन लाख रुपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै दिलिपका श्रीमती अनिता आमातको नाममा रहेको विराटनगर १८ मा रहेको किता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा बेचिदिए । छलफलमा सुनिलले दिलिपलाई १ लाख २५ हजार रुपैयाँ फिर्ता गरिदिएका छन् ।

यसैगरी रमानन्द मण्डलले श्रीमती पुनम मण्डलको नाममा रहेको ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडी १ लाख ८० हजार लिए । उनले १ लाख ८० हजार सुनिललाई सावा र ब्याज गरेर उनलाई ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका थिए । छलफलमा ३ लाख ५० हजार दिएपछि जग्गा फिर्ता आएको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने पीडितको मात्रै सुनिलले जग्गा फिर्ता गरेका हुन् । उनीहरुजस्तै सुनिल साहको ऋणको फन्दामा पर्ने विराटनगर १८ लावाटोली र दिमादिगीका दर्जन बढीलाई मिटरब्याज धन्दाको पासोमा पारेका रहेछन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले अहिलेसम्म उजुरी परेका मध्यै १ सय १० जना पीडितलाई जग्गा र पाउने पैसाँ फिर्ता गरेको बताए । जसमध्ये दुवै पक्ष राख्दा पनि निकास नभएपछि ९० वटा निवेदन अदालत पठाउने तयारी गरिएको उनले बताए ।
‘सजिलो तरिकाले मेलमिलाप हुँदैन । सत्य तथ्यमा पुग्न धेरै समय लाग्छ’, उनले भने, ‘जति ऋण दिएको छ, त्यसको उचित व्यजा साँवासहित दिने सहमति गराउँछौं ।’

पीडितहरुले जग्गा फिर्ता गरि मिटरब्याजमा ऋण लगानी गरि गरिवलाई उठिबास लगाउनेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने मागसहित सुरुमा विराटनगर महानगरपालिकामा निवेदन आएको कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् । ‘पीडितहरूले महानगरपालिकाको न्यायीक समितिमा उजुरी दिएपछि यहाँको क्षेत्रअधिकार भित्र नपरेपछि उपप्रमुख ज्यूको पहलमा मोरङ प्रशासनमा उजुरी दिएको हो,’ उनले भनिन्, ‘अहिले आएर पीडितले जग्गा फिर्ता पाएका छन् । खुसी भएर पीडितहरुले विराटनगर महानगरपालिकामा मेयर र उपप्रमुखलाई धन्यावाद पनि दिएर गए ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर