पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको लगानिमा बन्ने फोरलेनको सडक सुशानलाई कायम गरेर नमुना सडक हुने बताएका छन् ।
मोरङको नेताचौकमा मुख्यमन्त्री राईले आज विराटचौक–घिनाघाट सडकको शिलन्यास गर्दै यस्तो बताएका हुन् । उनले यति ठूलो लगानीमा बन्ने यो नै प्रदेशको पहिलो र नमूना सडक आयोजना भएको उनले बताए । मुख्यमन्त्री राईले ठेक्कामा लिने निर्माण व्यवसायीले नमूनाको रुपमा बनाएर समयावधिभन्दा अगाडि नै सरकारलाई सडक हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे ।
२२ दशमलव ५ किलोमिटर लम्बाइ रहेको विराटनगर प्रवेश गर्ने यो सडकलाई कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । विराटचौक–घिनाघाट सडक प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी बन्न लागेको हो । २२ दशमलव ५ किलोमिटर सडकलाई ३ वटा प्याकेजमा विभाजन गरिएको छ । जसमध्ये २ वटा १०–१० किलोमिटरको सडक ठेक्कामा लागेको भएपनि बाँकी रहेको २ दशमलव ५ किलोमिटर सडकको भने ठेक्का लगाउने प्रक्रियामा रहेको मोरङको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।
दुईवटा प्याकेजको ठेक्का भने गत असार ३१ गते सम्झौता भएको हो । सम्झौता अनुसार आगामि २०७८ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।