खबर पूर्वाञ्चल
छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेसम्म औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्रै कोषले समेटेको बताए । उनले कोषले उद्योगमा कार्यरत मजदुरलाई मात्रै नसमेटेर पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिए । “अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमिकलाई मात्रै समेटेको पाइएको छ,” उनले भने, “अनौपचारिक क्षेत्रका श्रमिकलाई त अहिलेसम्म कोषले छोएकै छैन ।”
मेयर कोइरालाले कोशी प्रदेशमा रहेका ९० हजार १ सय ९२ रोजगारदातामध्ये हालसम्म १ हजार ९ सय २५ रोजगारदातामात्रै कोषमा सहभागी भएको उल्लेख गरे । हालसम्म कोशी प्रदेशमा ४६ हजार ६ सय ४८ मजदुरहरु मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध दुखद भएको उनले विचार व्यक्त गरे । कोषले थप प्रभावकारी काम गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा औपचारिक क्षेत्रमा २७ र अनौपचारिक क्षेत्रमा ७३ प्रतिशत श्रमिक कार्यरत रहेको जानकारी दिए । ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा श्रमिक आबद्ध भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । त्यस्तै जिफन्ट कोशी अध्यक्ष किशोर धमलाले महानगरका १९ वटै वडामा श्रमिक डेक्स राख्न आग्रह गरे ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक प्रेमबहादुर महत, विराटनगर शाखा प्रमुख सौरभकुमार मिश्र, रोजगारदातका तर्फबाट महेशकुमार श्रेष्ठ, आश्रित परिवारका तर्फबाट वसन्ती चौधरीले मन्तव्य व्यक्त गरे । सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनालगायत समेटेको छ । हालसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
तपाईको प्रतिक्रिया