पूर्वाञ्चल खबर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रतुवामाई नगरकमिटिको सपथग्रहण समारोहलाई आज सम्बोधन गर्दै नेता बस्नेतले जनताले विकास र समृद्धि चाहेर दुई पार्टीलाई एक गराएको दावी गरे ।
उनले राजनितिक आन्दोलन अब देशमा समाप्त भइसकेकाले विकास र समृद्धिको दिशामा अघि बढ्नका लागि अब उत्पदनशिल क्षेत्रमा लाग्न आम कार्यकर्ताहरुलाई निर्देशन दिए । नेकपा मोरङको इन्चार्ज समेत रहेका नेता बस्नेतले विकास र समृद्धिका लागि स्थानीय स्तरबाटनै नेकपाका सवै नेता तथा कार्यकर्ताहरु उत्पादनशिल क्षेत्रमा लाग्न निर्देशन समेत दिए । उनले भन,‘अब तपाईहरु उत्पादनशिल क्षेत्रमा लाग्नुपर्छ । यो नगरलाई समृद्ध बनाउने जिम्मा तपाईहरुकै हो ।’
कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, गोपी अछामीले पार्टीबाट स्थानीय तहको प्रतिनिधित्व गर्ने सवै जनप्रतिनिधिहरुले पार्टीले बनाउन लागेको कार्यविधि अनुसार काम गर्न निर्देशन दिए ।
उनले सो नगरपालिकामा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सवै जनप्रतिनिधिले कामको गुणस्तरिताको अनुगमन गर्नुका साथै जनताका पिरमर्का बुझेर काम गर्न निर्देशन दिए ।
नेताहरुले विगतमा दुई पार्टी अलग अलग रहँदाका तित्तता, मनमुटाव, रिस राग पार्टी एकतापछी समाप्त भएकाले अब नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले नेकपा नेतृत्वको सरकारले देशलाई विद्युत र औद्योगीक उत्पादनमा आत्म निर्भर बनाउदै लगेको बताए ।
उनीहरुले मुलुकलाई समृद्ध बनाउन पनि जहाज र पूर्व पश्चिम रेल सञ्चालनका लागि डिपिआर तयार गरिएको बताउँदै अब चाँडै काम अघि बढ्ने दावी गरे । नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुक समृद्ध बनाउन दृढ रहेको बताउँदै यसबाट प्रतिपक्षिहरु आत्तिएको दावी गरे ।
उनीहरुले आफ्नो पार्टीको सरकारलेनै गलत काम गर्ने देशका १७ हजार ठेकेदारलाई कालो सुचिमा राखेको बताउँदै यसबाट अझ नेपाली कांग्रेस डराएको दावी गरे ।
कार्यक्रममा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले १७ वटै स्थानीयको पार्टी एकता सम्पन्न गरिएकाले ति स्थानीय कमिटिका नेता तथा कार्यकर्ताहरु अब जनताको सेवामा तदारुकताका साथ खटिन निर्देशन दिए ।
मंगलबारनै नगर पार्टी कार्याल सञ्चालनमा ल्याइएको बताउँदै सो कार्यालय मार्फत जनताको पिरमर्का बुझेर सेवा गर्न नगरकमीटिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए । उनले भने,‘यो पार्टी कार्यालय केवल झण्डा राख्ने मात्र ठाउँ होइन । यस मार्फत जनतालाई सर्मिस् दिनुपर्नेछ । यो काम तपाईहरुले गर्नुभएन भने तपाइहरु अयोग्य सावित हुनुहुनेछ । त्यसैले यो अवस्था सृजना हुन दिनुहुनेछैन भन्नेमा पार्टी विश्वस्त छ ।’
उनले सो नगर कमिटिले भदौ १५ गतेभित्रमा वडा कमिटिहरुको एकता सम्पन्न गरिसकेर सो नगरका सवै पार्टी सदस्यको सदस्यता नविकरण गराई सक्न समेत निर्देशन समेत दिए ।
कार्यक्रममा ८१ सदस्यीय नगरकमिटिका पदाधीकारी तथा सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र बस्नेतले पद तथा गोपनियताको सपथ ग्रहण गराए । उनीहरुलाई केन्द्रीय सदस्यहरु गुरु बराल, महेश रेग्मी, गोपी अछामी, जिल्ला समस्वय समिति मोरङका सभापति नरेशप्रसाद पोखरेल, उपसभापति प्रकाश साह, नकपा नेतृ मालती सुब्बा, प्रदेश कमिटि सदस्य चन्द्रवीर राईलगायतले अविर लगाई कुशलता पुर्वक जिम्मेवारी वहन गर्न शुभकामना दिए । कार्यक्रममा हजारौँ स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेकपा रतुवामाई नगर कार्यालय उद्घाटन
मंगलबारनै नेकपा रतुवामाई नगर कार्यालयको समेत उद्घाटन गरिएको छ । रतुवामाई–६ स्थित शनिश्चरेमा सञ्चालनमा ल्याइएको पार्टी कार्यालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र बस्नेतले उद्घाटन गरे । सो अबसरमा केन्द्रीय सदस्यहरु गुरु बराल, महेश रेग्मी, गोपी अछामी, जिल्ला समस्वय समिति मोरङका सभापति नरेशप्रसाद पोखरेल, उपसभापति प्रकाश साह, नेकपा नेतृ मालती सुब्बा, प्रदेश कमिटि सदस्य चन्द्रवीर राई लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको बमक्लो उपस्थिती रहेको थियो ।