पूर्वाञ्चल खबर
प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषकको खेतमै पुगेर माटोको परीक्षण गरि माटोको अवस्थाबारेमा जानकारी दिन प्रयोगशाला स्थापना गरेको हो ।
मन्त्रालयले खरिद गरेर ल्याएको उक्त प्रयोगशाला झापाको सुरूगा स्थित माटो तथा मल परिक्षण प्रयोगशालालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । अबको एक साता भित्रमा घुम्ति प्रयोगशाला झापास्थित मल परीक्षण प्रयोगशालालाई हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ । कृषकले बोलाएको ठाउँमा पुगेर माटो परीक्षण गर्न मन्त्रालयले को १ ग १६० नम्बरको बस भित्र प्रयोगशाला स्थापना गरको हो । अहिले पहेलो रंगको सवारीमा माटो परिक्षण गर्ने सम्पूर्ण उपकरणहरू जडान गरि तयारी अवस्थामा मन्त्रालयमा परिसारमा राखिएको छ । ७५ लाख लागतमा गाडीमा माटो परीक्षण घुम्ती प्रयोगशाला स्थापना गरिएको मन्त्रालयका सचिब हस्तबहादुर विष्टले जानकारी दिए ।
‘कृषकको खेतमा गएर माटो परीक्षण गरि जानकारी दिने सम्पूर्ण उपकरणहरू गाडी भित्र जडान गरेर राखिएको छ,’ उनले भने, ‘कृषकले आफ्ना खेतको माटो परीक्षण गर्ने जानकारी गराउने साथ माटो परीक्षण घुम्ती प्रयोगशाला हुइकिएर पुग्नेछ । प्राविधिकसहितको विज्ञ टोलीले माटोको परीक्षण गरि फिल्डमै कृषकलाई रिपोट दिनेछन् ।’ १५÷२० जना कृषकहरूको खेतको माटो परीक्षण एकै पटक गरिनेछ । बस भित्र स्थापना गरिएको माटो परीक्षण घुम्ती प्रयोगशालामा चालकसहित ५ जनाको प्राविधकको टोली हुनेछ ।
उनीहरूले कृषकको खेतमा पुगेर विभिन्न ६ प्रकारको माटोको परीक्षण गरि तत्काल फिल्डमै रिपोट दिने र कृषहरूलाई विज्ञको टोलीले सुझाब पनि दिने गरेको माटो तथा मल परिक्षण प्रयोगशाला झापाका माटो विज्ञ हरी बहादुर भूजेलले बताए । गाडीमा स्थापना गरेको प्रयोगशालामा ल्याबको सम्पूर्ण उपकरण, पिएच मिटर, पोटास परीक्षण गरिने फसफोरस, मेकानिकल सेक्टर, जनेटर, एसीलगायतका उपकरणहरू रहेको उनले बताए ।
‘घुम्ती प्रयोगशालाले माटोको ६ प्रकारको परीक्षण गरि तत्काल रिर्पोट दिने गरेको छ,’ उनले भने । उनका अनुसार माटोको परीक्षण पछि माटोको प्रङ्गारिकको अवस्था, माटाको पिएच, नाइटोजन, फसफोरस, पोटास, माटोमा प्राङ्गारिक पद्धार्थको अवस्थाबारे र माटोको अम्लीयपनको बारेमा कृषकलाई जानकारी दिने बताए । ‘माटोको परीक्षण पछि कृषकलाई कुन माटोमा कस्तो बाली हुने त्यसको बारेमा पनि विज्ञ टोलीले सुझावसहितको जानकारी दिनेछौं,’ उनले भने, ‘कुन बालीको लागि कति पि.एच. को मात्र हुनुपर्दछ त्यस विषयमा पनि कृषकहरूलाई हामी बुझाउनेछौं ।’
प्रदेशको दुई जिल्लाहरूमा रहेको कार्यालयमा माटोको परीक्षण हुँदै आएको थियो । झापाको सुरुङगा र सुनसरीको झुम्कामा रहेको माटो तथा मल परीक्षण प्रयोगशालामा पुगेर कृषकहरूले माटो परीक्षण गर्दै आएका थिए । अब कृषकहरूले माटोको परीक्षण गर्न माटो तथा मल परीक्षण प्रयोगशाला जानुपर्ने बाध्यता पनि अन्त्य हुने भएको छ ।
‘कृषकहरूको सहजताका लागि प्रदेश सरकारले कृषकको घरमै सेवा पु¥याउन प्रदेश सरकारले पहिलो पटक यो सेवा लिएको हो,’ मन्त्रालयका सचिब विष्टले भने, ‘कृषकको खेतमै पुगेर गरिने माटोको परीक्षण पनि निःशुल्क रहेको छ ।’ यस अघि माटो परीक्षण गर्दा कृषकले प्रयोगशालाले ताकेको निश्चित रकम तिर्नुपर्ने अवस्था थियो । मन्त्रालयका अनुसार प्रदेश १ मा ९ लाख २७ हजार ४ सय १९ हेक्टरे खेतीयोग्य जमिनमध्धे ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा खेती लगाएका छन् ।