पूर्वाञ्चल खबर
विराटनगर / सेन्ट जोसेफ इङलिस बोर्डिङ स्कूल, एभरेष्ट बोर्डिङ स्कूल र सप्तकोशी बोर्डिङ स्कूलले विराटनगरमा सुरु भएको अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
विराटनगरस्थित शहिद मैदानमा आजदेखि सुरु भएको प्रतियोगितामा एभरेष्ट स्कूलले डनबस्को स्कूललाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ । जितसंगै प्रिक्वाटर फाइनलमा प्रवेश गरेको एभरेष्टका लागि रोमन गिरीले २ गोल तथा सलिम चौधरी र विवेक गौतमले समान १–१ गोल गरेका थिए भने डनबस्कोका लागि प्रवेश थापा र विराज रेग्मीले समान १–१ गोल गरे । पराजित डनबस्को प्रतियोगिताबाट बाहिरिएको छ ।
त्यसैगरि, अर्को खेलमा सप्तकोशी बोर्डिङ स्कूल टाइब्रेकरमा बिजयी भएको छ । सप्तकोशीले अरनिको बोर्डिङ स्कूललाई टाइब्रेकरमा ३–१ गोलले पराजित गरेको थियो । सो खेलको निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल निर्णय पेनाल्टीसुट आउछबाट भएको थियो ।
त्यसैगरि आज विहान भएको पहिलो खेलमा सेन्टजोसेफ स्कूलले सिदार्थ बोर्डिङ स्कूललाई शुन्यका विरुद्ध ४ गोलले पराजित गरेको थियो । निर्धारित ६० मिनेटको खेलमा जित हात पारेको सेन्टजोसेफका लागि सिद्धान्त भट्टराईले २ गोल, मानव पोखरेल र ओम अधिकारीले समान १–१ गोल गरेका थिए । जित हातपार्दै सेन्ट जोसेफ पनि प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अखिल नेपाल फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाको ३२ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता संयोजक विनेश बस्नेतका अनुसार कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहने प्रतियोगितको उपाधि भिडन्त साउन १५ गते हुनेछ ।
संयोजक बस्नेतका अनुसार गतवर्ष एभरेष्ट स्कूललाई पराजित गर्दै अर्पण बोर्डिङ स्कूलले उपाधि चुमेको थियो ।