पूर्वाञ्चल खबर
विराटनगर / वेष्ट इन्डिजसँग पराजित हुँदै अफगानिस्तानले इंग्ल्याण्ड तथा वेल्समा जारी विश्वकपमा जितविहीन हुदै विश्वकपको यात्रा टुंग्याएको छ ।
बिहीबार राति भएको खेलमा वेष्ट इन्डिजसँग २३ रनले अफगानिस्तान पराजित हुदै विश्वकपको यात्रा टुंग्याएको हो । वेष्ट इन्डिजले अन्तिम खेलमा जित हात पार्दै विश्वकपमा दुई खेल जित्दा एक खेल पनि नजितेको अफगानिस्तान भने अंकविहीन हुदै घर फर्किन पुग्यो ।
वेष्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा पुरै खेल्दै सबै विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियोे । अफगानिस्तानका लागि इक्रम अलिखिलले ८६ रन बनाउँदा, रहमत शाहले ६२ रन र अस्घर अफगानले ४० रन बनाएर आउट हुँदा अफगानिस्तान पराजित हुन पुग्यो । वेष्ट इन्डिजलका कार्लोस ब्राथवइटले ४ विकेट लिँदा केमार रोयचले ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाउँदा इभिन लेविस र निकोलस पुरनले समान ५८–५८ रन, कप्तान ज्यासन होल्डरले ४५ रन र सिमरन हिटम्यारले ३९ रन बनाएका थिए । विश्वकपको अन्तिम खेल गरेका ३९ वर्षिय क्रिस गेलले ७ रन बनाएर आउट भए । अफगानका दवालत जार्डानले २ विकेट लिँदा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १–१ विकेट हात पारे ।