पूर्वाञ्चल खबर
विराटनगर / पेनाल्टी सुटआउटमा लुइस स्वारेज चुक्दा ब्राजिलमा जारी कोपा अमेरिका फुटबक प्रतियोगिताबाट उरुग्वे बाहिरिएको छ ।
कोपा अमेरिकाको इतिहासमा सबैभन्दा सफल टिमका रुपमा रुहेको उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भएको हो । आज विहान भएको खेलमा पेरुसँग उरुग्वे पेनाल्टी सुटआउटमा ५–४ को गोल अन्तरले पराजित भएको हो ।
निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएकोे हो । पेनाल्टी सुटआउटमा पेरुका पाँचै खेलाडीले गोल गरे, उरुग्वेका भने स्वारेज चुके । उरुग्वेका लागि सुरुमै पेनाल्टी प्रहार गर्न आएका स्वारेजको प्रहार गोलमा परिणत हुन सकेन । स्वारेजले निर्धारित समयमा गोल गरेका थिए, तर अफसाइड भएका कारण त्यसले मान्यता पाएको थिएन ।
पेनाल्टी सुटआउट स्वारेजपछि पेनाल्टी प्रहार गर्न आएका उरुग्वेका एडिन्सन काभानी, क्रिष्टियन स्तुएनी, रोड्रिगो बेन्तान्कुर र लुकास तोर्रिएइरा डी पास्कुएले गोल गरे भने पेरुका लागि पाओलो गुएरिरो, राउल रुइडिएज, योशिमार योतुन, लुइस एड्विन्कुला र एडिसन फ्लोरेसले गोल गरेका हुन् । पेरुले फाइनल प्रवेशका लागि आउँदो बिहीबार बिहान साबिक विजेता चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।