पूर्वाञ्चल खबर
विराटनगर/ डाँका चोरी तथा जबरजस्ती करणी गरेर फरार रहेका ९ वर्ष पछी पक्राउ परेका छन् ।
९ वर्ष फरार रहेका मोरङ ग्रामथान ६ का ३२ वर्षीय पप्पु मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०६८ असार ३० गते डाँका तथा जबरजस्ती करणी मुद्दामा पप्पु मियाँलाई डाकातर्फ ६ वर्ष कैद र ६४ हजार ५० रुपैयाँ जरिवाना र जबरजस्ती करणीतर्फ ११ वर्ष कैद गरी जम्मा १७ वर्ष कैद ६४ हजार ५० रुपैयाँ जरिवाना ठहरी गरेको थियो ।
पप्पु मियाँ २०६४ भदौ २२ गतेदेखि ०६७जेठ १० गतेसम्म २ वर्ष ६ महिना १८ दिन थुनामा बसी भुक्तान गरी १४ वर्ष ५ महिना १२ दिन कैद बाँकी रहदाँ फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दए ।
डिएसपी श्रेष्ठका अनुसार मियाँलाई इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले ग्रामथान ६ बाट लुकिछिपी हिंडेको अवस्थामा पक्राउ गरेको हो ।
मियाँले २०६४ साउन ६ गते साविक वैजनाथपुर ५ का सुरेन्द्र बुढाथोकी, भदौ १५ गते साबिक टंकिसिनवारी २ का रामकुमार बुढाथोकीको घरमा चोरी गरेका थिए ।
यस्तै विराटनगरको एक घरमा भदौ १५ गते राती नै साविक विराटनगर ४ को एक घरमा विभिन्न धनमाल डाका गरी जबरजस्ती करणी समेत गरेको ७–८ जना मध्ये मो. जबार मियाँ, पप्पु मियाँ, रजाबुल मियाँलाई २०६४ भदौ २२ गते पक्राउ गरी गरिएको थियो ।
उनलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा पेश गरिएको र बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाइएको मोरङ प्रहरी जनाएको छ ।