पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर / श्रीलंका विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियन्सीप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । समुह वि को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गरि अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
श्रीलंका सेमीफाइनलमा पुगेसँगै साफ महिला च्याम्पियन्सीप फुटबलको सेमीफाइनल समिकरण पुरा भएको छ । श्रीलंकाको विजयसँगै साविक विजेता भारत एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । श्रीलंका र भारतविच आइतबार हुने लिगको अन्तिम खेलबाट समुह विजेताको टुङ्गो लाग्ने छ ।
आजको खेलपछिसमूह ‘बी’ बाट श्रीलंका र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । यसअघि नै समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । श्रीलंकासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको माल्दिभ्सले पहिलो खेलमा साविक विजेता भारतसँग ६–० ले पराजित भएको थियो ।
श्रीलंकाको जित दुवै गोल चालानीकुमारी इकानायाकले गरिन् । चालानीकुमारीले खेलको ३७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएकी थिइन् । कप्तान इरान्डी के लियानजे गरेको फिकिकलाई माल्दिभ्सकी गोल किपर अमिनाथ लिजाले क्लिियर गर्न नसक्दा चालानीकुमारीले गोल गरि पहिलो हाफ १–० को अग्रता दिलाइन् भने अर्को गोल दोस्रो हाफमा गरिन् ।
चालानीकुमारीले खेलको ५० औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई तीन अंक दिलाइन् । अचला सन्जीवनी परेराले दिएको क्रस पासको सदुपयोग गर्दै उनले बललाई वानटचमा जाली चुमाएकी थिइन् । पहिलो हाफसम्म फितलो प्रदर्शन गरेको माल्दिभ्सले दोस्रो हाफपछि केही सुधारिएको खेल प्रदर्शन गरे पनि श्रीलंका सामु उसको केही लागेन ।
खेलअवधिभर बल नियन्त्रणमा राखेपको श्रीलंकाले गोल गर्ने कतिपय अवसर खेर फालेको थियो । श्रीलंकाका इरान्डी के लियानज , डोना थुसानी, चालानीकुमारीले राम्रा अवसर गुमाए पछि श्रीलंकाले थप गोल गर्न सकेन । माल्दिभ्स केही गोल गर्नै अवसरहरु गुमाएको थियो । माल्दिभ्सको अग्रपंक्ती कमजोर भएका कारण श्रीलंकाले विपक्षीबाट गोलको सामना गर्नु परेन ।
सेमिफाइनल पुग्ने सबै टिमले एक–एक खेल खेल्न बाँकी नै छ । आयोजक नेपालले समूह ए को अन्तिम खेलमा भोलि शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । यो खेलले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
खेलपछि माल्दिभ्सका प्रशिक्षक मोहम्मद आतिफले अस्वस्थ खेलाडीका कारण पराजयको नतिजा हात परेको बताए । उनका अनुसार चोटका कारण माल्दिभ्सका मुख्य तीन रक्षक बेन्चमा रहँदा पहिलो खेलमा भारतसँग पराजय बेहोर्नु परेको थियो । ‘हाम्रा खेलाडी अस्वस्थ्य थिए,’ उनले भने, ‘खेलाडी पूर्ण रुपमा तयार हुन नसक्दा हाम्रा लागि यो प्रतियोगिता लाभदायक बन्न सकेन ।’
श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले खेलाडीको उत्कृष्ट प्रदर्शननै जितको कारण भएको बताए । उनले समूह विजेताको छिनोफानोका लागि भारतसँग हुने खेलमा जितको खोजिमा मैदान उत्रिने बताए ।