पूर्वाञ्चल खबर
८ पुस,विराटनगर/ विराटनगरको व्यस्त बजार मनेरोडको लाइनमा रहेको चार वटा पसलमा गएराति चोरी भएको छ । आजदेखि हुने सातौं राष्ट्रिय खेलकुदको उद्घाटनको तयारीमा सुरक्षाकर्मी लागिरहेको बेला मेन रोड र ट्राफिक चोकको पसलमा चोरी भएको हो ।
कपडा, किराना तथा मिठाइ पसलमा एउटै प्रवृतिको चोरी भएको प्रहरीले बताएको छ । उस्तै प्रकृतिका चोरीका घटनाबाट नगद ३ लाख १० हजार चोरी भएको व्यापरीहरुले बताएका छन् । ताला लगाएको सटर बंग्याएर चारवटै पसल चोरी भएको हो । चोरी हुने पसलहरुमा विराटनगरको मेनरोडमा रहेको विराट न्यू कलेक्सन, दीपावली स्वीट, बाटारोडमा रहेको श्याम सुन्दर महेश्वरी एण्ड कम्पनी र ट्राफिक चोकमै रहेको विजय सूर्य ट्रेडर्स (किराना) रहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय मोरङबाट घटनास्थलमा खटिएका सुरक्षाकर्मीले भने एकै खालको चोरीका घटनाले आफूहरुलाई पनि आश्चर्यमा पारेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको प्रमुख संजय सिंह थापाले एकै पटक यस्तो घटना हुनुले आफूहरु पनि आश्चर्यमा परेको बताए । ‘हामी सबै अहिले राष्ट्रपति आउने कार्यक्रममा व्यस्ता छौं,’ थापाले भने, ‘त्यसको विस्तृत अध्ययन गरेर जानकारी दिन्छौं ।’