पूर्वाञ्चल खबर
विराटनगर / मोरङको सुन्दर हरैंचा नगरपालिका–९बेलेपुर क्षेत्रमा टिप्परको ठक्करबाट आज विहान एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचौकदेखि विराटनगर जाने बेलेपुर क्षेत्रमा बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी गरेको बताए । टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षा बिग्रने सक्ने अवस्थालाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको केसीले बताए । घटनामा केही सवारीसाधन आगजनी भएको र स्थिति अहिले पुरै नियन्त्रणमा आइसकेको बताउँदै प्रजिअ केसीले घटनाको बिषयमा अनुसन्धान हुने र दोषी देखिए कारबार्ही गर्ने बताए ।
विराटचोकबाट–विराटनगरतर्फ आज बिहान आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले बाटो काट्दै गरेका बेला ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् ।
निषेधाज्ञाको अवज्ञा पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको भए पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् ।