AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले मोरङको विस्तारित बैठक : विद्या भण्डारीको सदस्यता कायम गर्न जोडदार माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ भाद्र २०८२, सोमबार २०:१२
1.43k
Shares
विराटनगर / नेकपा एमालेको आसन्न विधान महाधिवेशनका लागि सुझाव संकलन गर्न मोरङको रंगेलीमा आयोजना गरिएको जिल्ला विस्तारित बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गरिनुपर्ने विषयले प्रमुखता पाएको छ ।

आज सम्पन्न बैठकमा सहभागी अधिकांश पालिका अध्यक्ष र जिल्ला सदस्यहरूले भण्डारीको सदस्यतालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

एमाले मोरङका इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक भदौ २० देखि २२ गतेदेखि सुरु हुने पार्टीको विधान महाधिवेशनमा पठाउने सुझावहरू संकलन गर्न केन्द्रित थियो । बैठकमा उपस्थित एक नेताका अनुसार पूर्वराष्ट्रपति भण्डारीको सदस्यता कायम गर्नुपर्ने विषयमा बहस भएको थियो ।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम गरेर लैजानुपर्दछ भन्ने विषय जोडतोडका साथ उठेको छ,’ ती नेताले भने, ‘बैठकमा आएका यी सुझावलाई अब केन्द्रमा पठाउने तयारी छ ।’

राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष भएकी भण्डारीले संवैधानिक पदमा निर्वाचित भएपछि पार्टीको पदीय जिम्मेवारीबाट अलग भएकी थिइन् । कार्यकाल सकिएपछि उनको पार्टीमा पुनः सक्रिय हुने विषयलाई लिएर एमालेभित्र विभिन्न मतहरू सार्वजनिक भइरहेका बेला जिल्ला तहबाट यस्तो सुझाव आएको हो ।

 

मोरङको बैठकमा सहभागी नेताहरूले भण्डारीको लामो राजनीतिक योगदान र अनुभवलाई पार्टीले उपयोग गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले भण्डारीलाई सम्मानित भूमिका दिएर पार्टीमा सक्रिय गराउनु पर्ने तर्क प्रस्तुत गरे ।

यद्यपि, बैठकमा सबैको मत एउटै भने थिएन । केही जिल्ला तहका नेताहरूले भने केन्द्रले भण्डारीको सदस्यता हटाएको निर्णयलाई नै सदर गर्नुपर्ने सुझाव राखेका थिए । उनीहरुले राष्ट्रपति जस्तो सम्मानित पदबाट अवकाश पाएको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा फर्कंदा पदको गरिमा र लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठ्न सक्ने आशंका व्यक्त गरे ।

एमाले मोरङका सचिव सोमराज थापाले बैठकमा विधान महाधिवेशनका लागि विभिन्न सुझावहरू आएको र ती सबैलाई एकीकृत गरी केन्द्रमा पठाइने जानकारी दिए । ‘बैठकमा पालिका अध्यक्षहरू तथा जिल्ला सदस्यहरूबाट विभिन्न सुझावहरू आएका छन् । बैठकमा आएका सुझावहरू अब केही दिनभित्रमा केन्द्रमा पठाउनेछौं ,’ उनले भने ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको दाबी गर्दै आएकी छिन् । तर, पार्टीको केन्द्रीय तहमा यस विषयमा औपचारिक निर्णय भइसकेको छैन, जसले गर्दा केही अन्योलता कायमै छ । मोरङ जिल्लाको यो विस्तारित बैठकले भण्डारीको राजनीतिक भविष्यको बहसलाई तल्लो तहसम्म पुर्‍याएको छ । विधान महाधिवेशन नजिकिँदै गर्दा मोरङबाट पठाइने यो सुझावले केन्द्रीय नेतृत्वलाई दबाब दिन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर