पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–१५ रामजानकी टोल स्थित मोबाइलको ब्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानिय सुवास मण्डलको छोरा अमित मण्डलको आज दिउँसो आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री विष्फोट हुँदा मृत्यु भएको हो ।
विस्फोटमा परी सोही ठाउँका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । घाइते भएकी बालिका राधिकालाई उपचारका लागि कोशी अञ्चल अस्पतालबाट थप उपचारको लागि विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले घर नजिक बन्दै गरेको निमार्णधिन पक्की घर भित्र आगो तापेर बालबालिका खेल्दै गरेको अवस्थामा विष्फोट भएको जानकारी दिए । विग्रिएको पुरानो मोवाइलको ब्याट्री बलिरहेको आगोमा परेपछि पड्किएर घटना भएको हुन सक्ने आशंका गरिएको प्रहरी निरीक्षक रानाले बताए ।