पूर्वाञ्चल खबर
विशेष सूचनाको आधारमा भन्दै ठूलो संख्यामा पुगेको प्रहरी टोलीले घरका कुनाकुना खोतले पनि कुनै पनि शंकास्पद वस्तु, नगद वा गैरकानुनी प्रमाण फेला पार्न नसकेपछि अन्ततः रित्तो हात फर्किएको छ।
बिहान ४ बजेदेखिको ‘सर्च अपरेसन’
विराटनगर महानगरपालिका–७ स्थित मुन्दडाको निवासमा सोमबार झिसमिसेमै प्रहरीको टोली पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको प्रत्यक्ष कमान्डमा खटिएको टोलीले बिहान करिब ४ बजेदेखि सर्च अपरेसनु सुरु गरेको थियो। मुन्दडा निवास र कार्यालयलाई सुरक्षा घेरामा राखेर सुरु गरिएको उक्त खानतलासी बिहान साढे ९ बजेसम्म जारी रहेको थियो।
खानतलासीका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। खानतलासी चलिरहँदा प्रहरीले मुन्दडा निवास वरपरको सडकमा आवतजावतमा समेत कडाइ गरेको थियो।
कोठादेखि दराजसम्म खानतलासी
प्रहरी टोलीले उद्योगी मुन्दडाको घरका हरेक कोठा, किचन भान्छा, भण्डार र व्यक्तिगत दराजहरू समेत खानतलासी गरेको थियो। नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्षसमेत रहेका मुन्दडाको घर मात्र नभई उनको कार्यालयमा रहेका दराज र कागजातहरू पनि प्रहरीले सुक्ष्म रूपमा जाँच गरेको थियो। तर, साढे ५ घण्टाको निकै मिहिनेतपूर्ण खोजीका बाबजुद प्रहरीले कुनै पनि गैरकानुनी सामग्री वा शंकास्पद वस्तु फेला पार्न सकेन।
परिवार र उद्योगीको प्रतिक्रिया
खानतलासीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रकाश मुन्दडाका काका बेनीगोपाल मुन्दडाले प्रहरीलाई आफूहरूले पूर्ण सहयोग गरेको बताए। उनले भने, ‘प्रहरीले कुन सूचनाको आधारमा यो सब गर्यो, हामीलाई थाहा छैन। तर उनीहरूले घरका हरेक कोठा र दराजहरू समेत एउटा–एउटा गरेर खोलेर हेरे। केही पनि नभेटिएपछि उनीहरू फर्किएका छन्।’
त्यस्तै, उद्योगी प्रकाश मुन्दडाले प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै यसलाई स्वाभाविक रूपमा लिएको बताए। ‘प्रहरीले सूचनाको आधारमा काम गर्नुपर्छ, त्यो उनीहरूको प्रणाली हो,’ मुन्दडाले भने, ‘उनीहरू आए, सबै कुरा राम्रोसँग हेरे। केही पनि फेला परेन, त्यसैले उनीहरूले मलाई क्लिन चिट दिएर फर्किएका छन्। प्रहरीको कामप्रति मेरो कुनै गुनासो छैन।’
रित्तो हात फर्कियो प्रहरी
लामो समय लगाएर गरिएको खानतलासीमा कुनै पनि प्रमाण वा सामग्री फेला नपरेपछि प्रहरी टोलीले स्थानीय प्रतिनिधि र मुन्दडा परिवारको रोहबरमा मुचुल्का उठाएको थियो। कुनै पनि गैरकानुनी वस्तु बरामद नभएपछि प्रहरी टोली रित्तो हात फर्किएको छ। मोरङ प्रहरीले भने कुन उद्देश्य वा कस्तो ठोस सूचनाको आधारमा उद्योगीको घरमा यति लामो खानतलासी गरेको हो भन्नेबारे औपचारिक रूपमा विस्तृत जानकारी दिएको छैन।
प्रतिष्ठित उद्योगीको घरमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन भएपछि विराटनगरको औद्योगिक र व्यापारिक क्षेत्रमा यस घटनालाई निकै चासोका साथ हेरिएको छ।
साढे पाँच घण्टा लामो खानतलासी गरेर प्रहरी टोली फर्किएको र घरबाट कुनै नगद, कागजात वा अन्य सामग्री बरामद नभएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । ‘विशेष सूचनाका आधारमा छापा हानेका थियौँ। लामो समय लगाएर घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो । तर, केही पनि फेला परेन । त्यसपछि टोली फर्कियो,’ एसपी कटवालले भने । उनका अनुसार कहिलेकाहीँ प्रहरीलाई प्राप्त हुने सूचना पूर्ण रूपमा सही नहुन पनि सक्छ ,’ उनले बताए ।