पूर्वाञ्चल खबर
विराटनगर/ सरकारले गत वर्ष उखुको न्यूनतम समर्थन मूल्यभन्दा आधा मुल्यमा मिललाई उखु विक्री गर्न सुनसरीको बुर्जु गाउँपालिकामा रहेको इस्टन सुगर मिलका सञ्चालकहरू किसानसँग बागेर्निङ्ग गर्न सुरु गरेका छन् ।
सरकारले गत वर्ष तोकेको प्रतिक्वीन्टल ५ सय ३० रुपैयाँ भन्दा आधा कम ३ सय ८५ रुपैयाँमा मिललाई विक्री गर्न उनीहरूलाई दबाव दिन थालेका हुन् ।
प्रदेश नम्बर १ मा एउटा मात्र सुगर मिल भएकाले एक छत्र राज गर्दै आएको इस्टनले सुगर मिलले गत वर्षको मूल्यमा कृषकको उखु खरिद नगर्ने र सरकारले तोकेको मुल्य उखु खरिद गर्नु परे बरु उद्योग बन्द गरेर बस्ने कृषकहरूलाई धम्की दिन थालेका छन् ।

मिलले भने अनुसार आफुहरुले उखु बिक्रि गर्दा लागत खर्च समेत नउठ्ने किसानहरुको भनाइ छ । गत वर्षकै हाराहारीमा उखुको मूल्य दिन नसक्ने बताएपछि किसान मारमा परेका छन् । मिलले गत वर्ष पनि विभिन्न बाहना बनाएर सरकारले तोकेको भन्दा ३० रुपैयाँ कम मूल्य दिएको थियो । झापा, मोरङ र सुनसरीका उखु किसानलाई यस पटक पनि उचित मूल्य दिन नसक्ने मिलले बताए पछि किसानहरु आक्रोशित भएका छन् । उखु मिलले उखु लगाउने बेलामा मूल्य बढाएर दिने भनेको भएपनि मूल्य दिने बेलामा चाहिँ घटाउन खोजेको विराटनगरका उखु किसान जीवन चौधरीको भनाइ छ ।‘उखु लगाउने बेलामा कर्मचारी पठाएर बढाएर मूल्य दिने भन्दै हामीलाई उक्सायो,’ चौधरीले भने, ‘तर उखु खरिद गर्ने बेलामा मिल धरासायी हुने भयो, घाटा हुने भयो भन्दै मूल्य कम दिने बताइरहेको छ ।’
मिलले अहिले ३ सय ८५ रुपैयाँ मात्रै मूल्य दिएर खरिद गर्न सक्ने भन्दै किसानसँग बार्गेनिङ गरिरहेको छ । गत वर्ष ५ सय ३० रुपैयाँ मूल्य दिँदा आफूहरुले करोडौं घाटा खाएको र यो वर्ष पनि सोही अनुसार खरिद गर्नु पर्दा मिल बन्द हुने इष्टर्न सुगर मिलका सञ्चालक हितेश गोल्छाको भनाइ छ ।
कृषकहरूले भने सरकारले गत वर्ष तोकिएको समर्थन मूल्य अनुसार मिलले उखु खरिद गनु पर्ने माग गरेका छन् । इष्टन सुगर मिलका सञ्चालक र सुनसरी, मोरङका उखु किसानसँग आज विराटनरमा छलफल भएको थियो । उक्त छलफलमा मिलका तर्फबाट गोल्छाले मिल बचाउन किसानले योगदान गर्नु पर्ने भन्दै लामो ब्रिफिङ गरेका थिए । तर, किसानले मूल्य घटाउने शर्त मान्य नहुने भनेपछि छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।
‘हामीले गत वर्ष पाएको मूल्यले केही नाफा कमाउन पाएका छौं,’ किसान बलराम श्रेष्ठले भने, ‘यो वर्ष फेरि घटाएर दिने भनेपछि हाम्रो आजको छलफलले निष्कर्ष निकाल्न सकेन, किसानलाई निचोर्ने हिसावले मिलले प्रस्ताव गरेको छ ।’
सरकारले अहिलेसम्म यो वर्षको उखुको मूल्य तोक्न सकेको छैन । उखु खेतबाट निकाल्ने समयमा अचानक मूल्य घटाउने कुरा गर्नु न्यायसँगत नभएको अर्का उखु किसान उमानाथ दंगालको भनाइ छ । ‘सुगर मिलले भने सरकारसँग गर्नु पर्ने छलफल एक्कासी किसानसँग गरेर निष्कर्ष निकाल्न खोज्नु न्यायसंगत देखिँदैन,’ दंगालले भने, ‘कि त सुगर मिलले यो छलफल उखु लगाउने बेलैमा गर्नु पर्दथ्यो, हामीलाई ढाँटेर उखु निकाल्ने बेलामा एक्कासी किसान मार्ने हिसावले छलफल गर्दा हुन्छ र ? ।’
सुगर मिलले दिने भनेको ३ सय ८५ रुपैयाँ प्रति क्विन्टलको मूल्यमा उखु विक्री गर्ने हो भने लाखौं घाटा खेप्नु पर्ने किसान बताउँछन् । सरकारले भने नेपालको चिनी उद्योग बचाउन भन्दै केही समय अगाडि नेपालमा चिनी आयातमा अघोषित रोक लगाएको थियो । तर, अझै नेपालको चिनी मिलमा पर्याप्त चिनी रहेको र विक्री नभएर घाटा व्यहोर्नु परिरहेको मिल सञ्चालकको भनाइ छ । नेपालमा २ लाख ५० हजार मेट्रिक टन चिनीको माग छ ।
नेपाली चिनी मिलले १ लाख ७८ मेट्रिक टन चिनी उत्पादन गरेको रेकर्ड छ । भारतबाट त्यो भन्दा बढी चिनी आयात हुँदा नेपाली चिनी मिलमा अहिले पनि ७५ हजार मेट्रिक टन चिनी गोदाममा रहँदा प्रतिकेजी १० रुपैयाँसम्म घाटा व्यहोर्नु परेको उद्योगीको दाबी छ । त्यो घाटा कम गर्नका लागि किसानले मूल्य घटाउनु पर्ने मिल सञ्चालकको दाबी छ ।