पूर्वाञ्चल खबर
आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनेको बताए। कामको चापको हिसावले पनि धेरै विभागहरूसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो हुँदै गएको कारण मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको मुख्यमन्त्री राईले बताए।
प्रदेशको नाम र राजधानीको विषय माथिल्लो तहमा टुंगो लागिसकेको जानकारी दिँदै मुख्यमन्त्री राईले आउँदो हिउँदे अधिवेशनका क्रममा राजधानी र नामांकरणको विषय टुंगो लाग्ने बताए। मुख्यमन्त्री राईले हिउँदे अधिवेशन पुसको पहिलो हप्ता बस्ने र त्यो भन्दा अगाडि संसदीय दलको बैठक पनि बस्ने र सहमतिमा नाम र राजधानीको विषय टुंग्याउने प्रयास भइरहेको जानकारी दिए।
मन्त्रिपरिषदमा संघीय समाजवादी फोरमलाई पनि ल्याउने या नल्याउने भन्ने विषयको टुंगो नलागेको जानकारी दिँदै मुख्यमन्त्री राईले संघीय सरकारसँग आवश्यक परामर्श गरी प्रदेशमा पनि छलफल गरेर त्यस विषयको टुंगो लाग्ने उनको भनाइ थियो। मुख्यमन्त्री राईले मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व गराइने समेत जानकारी दिए ।