AArya
RUMPUM
animated ellipse animated ellipse

सेवासुविधाबिनै अवकास दिँदा कर्मचारी विचल्लीमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७५, शनिबार ०८:०४
18
Shares
विराटनगर / गत साउनदेखि यातायातको सेण्डिकेट सरकारले खारेज गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरूलाई उपदान र सेवा सुविधाबिनै अवकास दिएर अन्याय गरेको पीडित कर्मचारीले बताएका छन् ।

पूर्व नेपाल यातायात व्यवसायी सङ्घमा आवद्ध ५६ जना कर्मचारीहरू अन्यायमा परेको उनीहरुले बताएका हुन् । सेण्डिकेट खारेज भए पनि सङ्घमा आवद्ध ५६ जना कर्मचारीहरूले पाउनु पर्ने उपदान र सेवा सुविधासहितको १ करोड ६५ लाख रुपैयाँ अझै पाउन सकेका छैनन् । सङ्घ खारेज भएको भन्दै पन्छिदा उनीहरू बिचल्ली परेका हुन् । सङ्घले सरकारबाटै सेवा सुविधा लिनु भन्दै अवकास दिएको छ ।

सरकारले सेण्डिकेट खारेज गरे पनि कर्मचारीहरूलाई सेवा सुविधा दिलाउन र सम्पत्ति जिम्मा लिने दायित्व बोध नगर्दा आफुहरू अन्यायमा परेको सङ्घका पूर्व कार्यालय प्रमुख दिलिप पोखरेलले बताए । उनका अनुसार खारेजीमा परेको भन्दै सङ्घले २०५३ सालदेखि काम गर्दै आएका ५६ जना कर्मचारीहरूलाई नियमअनुसार प्राप्त गर्ने सेवासुविधाबिनै गत साउनमा अवकास दिएको छ ।

पारिश्रमिक माग गर्दै उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी समेत दिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरले मंसिर ३ गते सङ्घका पदाधिकारीहरूलाई पत्र लेख्दै कर्मचारीहरूको छुट पारिश्रमिक र उपदान उपलव्ध गराउन आग्रह गरे पनि वेवास्ता गरेको छ । श्रम कार्यालयले पूर्व नेपाल यातायात व्यवसायीका नाममा रहेको ५ करोड बरावरको सम्पत्ति रोक्का गरेको र पारिश्रमिक नदिएसम्म सबै कर्मचारीहरू बहालै रहेको निर्णय गरेको बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । तर श्रमले सम्पत्ति रोक्का गरे पनि कुनै असर परेको छैन ।

विराटनगरको महेन्द्र चौकदेखि पूर्वपट्टि रहेको पूर्व नेपाल यातायात व्यवसायीको कार्यालय रहेकै ठाउँमा पूर्व पदाधिकारीहरूसमेतले हाल पूर्व नेपाल प्रालि नामको कम्पनी खोलेर सञ्चालन गरिरहेको छ । सङ्घका पूर्व सहलेखापाल मुरारि फुँयालले पारिश्रमिक माग्दा सङ्घका अध्यक्ष राजन कँडेल, महासचिव धर्मदेव साह र कोषाध्यक्ष लिला घिमिरेले सङ्घको सम्पत्ति कम्पनीका नाममा नामसारी भएर आएमात्र कर्मचारीको दायित्व बोध लिने जानकारी गराउँदै सबै कर्मचारीहरूलाई अवकास दिएका छन् ।

बरिष्ठ श्रम अधिकृत सञ्जेलले खारेज भएका सेण्डिकेटको सबै सम्पत्ति सरकारले आफ्नो बनाएर कर्मचारीहरूलाई सेवा सुविधा दिनुपर्ने वा कर्मचारीहरूलाई ऐनअनुसार सेवा सुविधा नदिई अवकाश दिने पूर्व सिण्डिकेट सञ्चालकहरूलाई थप कारबाही गर्नुपर्ने बताए । श्रम कार्यालयले पुनः शुक्रबार सङ्घको नाममा दोस्रो पत्र काटेको सञ्जेलले बताए ।

श्रम कार्यालयका अनुसार २०५३ मा जिल्ला प्रशासन मोरङमा दर्ता भएको बिराटनगर महानगरपाकिला ११ मा १३ धुर जग्गामा दुई तले घर र मोटर ग्यारेज र एउटा गाडी छ । त्यस्तै संघकै नाममा सुनसरीको झुम्कामा ३ कठ्ठा र विराटनगर हाटखोलमा १ कठ्ठा जग्गा छ । सबै सम्पत्ति हाल पूर्व नेपाल यातायात प्रालीले भोग चलन गरिरहेका छ । सबै सम्पत्तिको मूल्य करिब ५ करोडभन्दामाथि हुने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर