पूर्वाञ्चल खबर
विराटनगर /विराटनगरमा नेतृत्व तथा टोली निर्माणसम्बन्धी एकदिने लिडरसीप ल्याब कार्यक्रम आयोजना गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर सेन्ट्रल अन्तर्गतका लियो क्लब अफ विराटनगर सेन्ट्रल, सेन्ट्रल मेघा तथा सेन्ट्रल शताब्दीको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न कार्यक्रमा करिब ५० जना सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।कार्यक्रममा लायन इन्द्र खत्री (राजन), लायन प्रा. डा. सन्देशदास श्रेष्ठले लगायतले प्रेरणादायी मन्तव्य व्यक्त गरेका थिए । प्रमुख प्रशिक्षक लायन प्रा. डा. सन्दीपदास श्रेष्ठ तथा प्रशिक्षक लियो लायन शंकर मण्डलले सहभागीहरूलाई नेतृत्व विकास, टोली निर्माण, प्रभावकारी सञ्चार तथा व्यक्तिगत विकाससम्बन्धी विषयमा अन्तरक्रियात्मक ढंगले प्रशिक्षण प्रदान गरे। उनीहरूले व्यवहारिक अभ्यास, समूहगत गतिविधि तथा अनुभव आदानप्रदानमार्फत सहभागीहरूलाई नेतृत्व क्षमताको विकासमा मार्गदर्शन गरे ।
कार्यक्रमको समन्वय तथा नेतृत्व लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष पवन काफ्ले गरे ।
कार्यक्रमले युवा पुस्तामा नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।