पूर्वाञ्चल खबर
आज भएको खेलमा वर्दिया र त्रिभुवन आर्मि क्लव विजयी भएको छ । पहिलो खेलमा वर्दियाले झापालाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेल १९ ओभरमा सवै विकेट गुमाई १ सय १ रनको योगफल खडा गरेको थियो । झापाकालागि अभिषेक बिकले २८ रन बनाउँदा दिपेश गुरागाईले १६ रन बनाए । वर्दियाका म्यान अफ द म्याच लिल चौधरीले ५ विकेट लिँदा रामप्रसाद पौडेल र अर्बिन छेत्रीले १–१ विकेट लिए ।
जवाफमा १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको वर्दियाले १२ ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । वर्दियाका अर्बिन छेत्रीले ३८ रन र लिल चौधरीले २० रनको योगदान दिए । झापाकालदागि प्रतिक दर्जी र रमेश शाहले समान २ विकेट हात पारे ।
त्यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मि क्लवले म्याग्दीलाई ४५ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मि क्लवले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन विशाल योगफल तयार पारेको थियो । आर्मिकालागि भरत थापाले ७० रन बनाउँदा बद्रि चौलागाईले ५४ रनको योगदान दिए । म्याग्दीका टिम म्याग्दीका सुनिल राना र विशाल विक २–२ विकेट लिए ।
जवाफमा १ सय ८१ रनको विशाल योगफल पछ्याएको म्याग्दीले १८ दशमलव ४ बलमा अल आउट हुँदै १ सय ३५ रन बनायो । म्याग्दीका सुनिल रानाले ५७ रन रन बनाउँदा शेरजंग गुरुङले १६ रनको योगदान दिए । आर्मिका भरत थापाले ३ विकेट लिँदा बद्रि चौलागाईं र सन्त पहरी २–२ विकेट लिए ।
लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा म्याग्दी, झापा, वर्दिया तथा त्रिभुवन आर्मी क्लवका द्धन्द पिडित घाइते सैनिक गरी चार टिमको सहभागिता रहने छ ।
मंसिर ८ गतेसम्म हुने प्रतियोगिताको विजेताले २० हजार तथा उपविजेताले १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।
यस अघि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मेयर पराजुलीले फरक क्षमता भएकाहरुले पनि आफ्नो प्रतिभा देखाउन सक्छन् र त्यसखाले प्रतिभा उजागरका लागि आगामी बजेटमा नेत्रहिनहरुका लागि खेलमा प्रोत्साहन गर्न बजेट छुट्याउने आश्वासन दिए ।