पूर्वाञ्चल खबर
प्रदेश १ मा मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जसमध्ये १३ जना प्रदेश १ बाहिरको रहेका छन् भने प्रदेश १ का ४५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको बुढीगंगा गाउँपालीकामा रहेको विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत झापा भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको आज विहान मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका वृद्धलाई सोमबार कोरोना पुष्टि भएको थियो । उनमा ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।
उता सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहाका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सिराहाको औरी–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राति १२ बजेर ४५ मिनेट मृत्यु भएको अस्पतालका प्रवक्ता डा.दिनेश सापकोटाले जानकारी दिए ।
ती पुरुषलाई टाउको दुख्ने, उल्टी आउने जस्ता लक्षण देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सोही क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई प्रतिष्ठान रेफर भएको सापकोटाले जानकारी दिए ।