पूर्वाञ्चल खबर
आज बिहान दुहबी नगरपालिका–९ मा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय हुसेनको गोली प्रहारबाट हत्या भएको हो । उनको हत्यापछि स्थानीयले धरान–विराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरको छन् । स्थानीयले दुहवी–५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।
मोटरसाइकलमा आएका अज्ञात समूहले मर्निङवाकमा निस्किएका हुसेनमाथि गोली प्रहार गरेको थियो । अज्ञात समूहले हानेको गोली लागी घाइते भएको हुसेनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानएको छ ।
हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ । अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।
यसअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो । एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।