पूर्वाञ्चल खबर
पक्राउ परेका दुई जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो । लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी शम्भुनाथ नगरपालिका १२ घर भई मोरङ विराटनगर स्थित शान्तिचौकमा डेरा गरी बस्ने बर्ष २३ का शिवराम चौधरी र मोरङ बिराटनगर महानगरपालिका ८ बस्ने बर्ष २५ को समीर कामतलाई सार्वजनिक गरिएको हो ।
उनीहरुले कार्तिक १३ गते बिराटनगरको हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गरेको अवस्थामा मोरङ कटहरी २ बस्ने निरज श्रेष्ठको सामसुङ कम्पनीको मोवाइल लुटेर फरार भएका थिए । त्यसैगरी कार्तिक १६ गते आर. के. चिल्ड्रेन अस्पताल अगाडीबाटमोरङ कानेपोखरी गाउँपालिका ३ घर भई हाल बिराटनगर ८ बस्ने हिना राजवंशीको नगद १८ हजार ४ सय, घडी १ थान, लेडिज झोला, परपल रंगको सल, सामसुङको मोवाईल थान १ चोरी गरि फरार भएका थिए । साथै विराटनगरको हाटखोलाबाट कार्तिक २५ गते विराटनगर ७ बस्ने चन्द्रकला बस्नेतलाई तानेर भुईमा लडाई निजको व्यागभित्र रहेको नगद, मोवाईललगायतका सामानहरू लुटपाट गरेका थिए ।
घटना सम्बन्धमा पिडितहरुले जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलामा दिएको उजुरीको आधारमा पिडितसंग समेत समन्वय गरी अभियुक्तको खोजतलास तथा लुक्न सक्ने स्थानमा खानतलासी गरी उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।