पूर्वाञ्चल खबर
प्रदेश १ स्तरीय छलफल आज विराटनगरस्थित काँग्रेस मोरङको पार्टी कार्यालयमा सम्पन्न भएको छ । पहिलो पटक आर्थिक नीतिबारे तल्लो तहमा गई छलफल गरिएको पार्टीका सहमहामन्त्री तथा आर्थिक विधान मस्यौदा समितिका संयोजक प्रकाशशरण महतले जानकारी दिए । छलफलमा प्रदेशभरिका पार्टी जिल्ला सभापति, विज्ञ तथा उद्योगी व्यापारी पनि सहभागी थिए । महतले भने,‘प्राप्त सुझावलाई नै आधारित गरी आर्थिक नीति बनाइने छ ।’
विराटनगरअघि पोखरा र बुटबलमा सुझाव लिइएको थियो । सोमबार नेपालगञ्जमा हुने महतले जनाए ।
छलफलमा सहभागीले विपन्न तथा गरिबको जीवनस्तर उकास्ने गरी आर्थिक नीति बनाउन सुझाव दिए । कृषि, उद्योग, पर्यटन र सहकारिता नै आर्थिक विकासको मूल मेरुदण्ड हुने सहभागीको जोड थियो । छलफलमा खोटाङका पार्टी सभापति सुभाष पाखेरेल, पाँचथरका नरेन्द्र केरी, विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहरा, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडा, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्योगमैत्री कानुनमा बनाउन सुझाव दिए ।
कार्यक्रममा प्रदेश १ का चौध जिल्लाबाट काँग्रेस सभापति, प्रदेश सांसदसहित केन्द्रीय नेतृत्वको सहभागिता थियो । छलफलमा पूर्वमन्त्री दीपक विष्ट, काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, अमृत अर्याल, डा. डिला संग्रौला, गुरुराज घिमिरे,प्रदेश १ का प्रमुख विपक्षी दलका नेता राजीव कोइराला,काँग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू, इश्वर चिपालु, शैलेन्द्र सिवाकोटी, नरेश्न्र कटुवाल, प्रतापप्रकाश हाङगामलगायतले आ–आफ्ना विचार राखेका थिए । सहभागीले काँग्रेसको आर्थिक नीति एक्काइसौं शताब्दी सुहाउँदो हुनुपर्ने बताए ।