पूर्वाञ्चल खबर
जग्गा बिवादका क्रममा २०४६ सालमा कार्कीले स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार भएका थिए । कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो । घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैं मनाउन घर आएका वेला जिल्लाबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
पक्राउ परेका कार्कीलाई अदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि पेश गर्ने गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका थिए । उक्त घटनामा चन्द्रबहादुरका साथै सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेललगायत चार जनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसला अनुसार कैंद भुक्तान गरिसकेका छन् । पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एक जना अभियुक्त भने हालसम्म फरार भएका थिए । फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।