पूर्वाञ्चल खबर
अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।
त्यसयता ‘फरार’ रहँदै आएका उनलाई पक्राउ गरी सर्वाेच्चको आदेश पालना हुनुपर्ने माग राखी कृष्णप्रसादकी आमा गंगामायाले गत जेठ १५ देखि वीर अस्पतालमा आमरण अनशन सुरु गरेकी थिइन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि सरकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै सर्वोच्चको आदेश पालना गराउन दबाब पर्दै आएको थियो ।
गंगामाया अनशन बसेको एक महिना १० दिनमा पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका हुन् । त्यसलगत्तै गंगामायाका वकिल तथा मानव अधिकारवादीहरू आईसीयूमा रहेकी उनलाई भेट्न वीर अस्पताल पुगेका थिए ।
‘हामीले अब तपाईंको मुख्य माग पूरा भएकाले अनशन तोड्नुस् भन्ने आग्रह गर्यौं,’ गंगामायाका वकिल बाबुराम गिरीले भने, ‘तर उहाँले तत्कालका लागि सत्याग्रह जारी राख्ने नै संकेत दिनुभयो ।’
गंगामायालाई छविलालले अदालतमा आत्मसमर्पण गरिसकेको जानकारी दिँदै अनशन तोड्न आग्रह गर्न उनका अर्का वकिल आशिकराम कार्की तथा मानव अधिकारवादीहरू कनकमणि दीक्षित, सुबोध प्याकुरेल, चरण प्रसाईं र इन्द्र अर्याललगायत अस्पताल पुगेका थिए । ‘यो पनि पहिलेजस्तै नाटकै होला सरकारको’ गंगामायालाई उद्धृत गर्दै अधिवक्ता गिरीले भने, ‘म अहिल्यै अनशन तोडदिनँ ।’
२०६१ जेठ २४ गते मारिएका छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दा गंगामाया, उनका पति नन्दप्रसाद तथा उनका जेठा छोरा नूरप्रसादलाई छविलाल पौडेललगायतका गोरखा फुजेलका तत्कालीन माओवादी कार्यकर्ताले घरजग्गा कब्जा गरेर गाउँबाटै निकाला गरिदिएका थिए ।
सम्पत्ति फिर्ता हुनुपर्ने र हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै उनीहरूले पटक–पटक प्रधानमन्त्री तथा मन्त्रीसमक्ष हारगुहार गरेका थिए । तर कसैले पनि वास्ता नगरेपछि आमरण अनशन बसेका थिए । अनशन बसेको ३ सय ३५ दिन चार वर्षअघि नन्दप्रसादको मृत्यु भएको थियो । त्यस क्रममा उनका जेठा छोराले हत्यारालाई कारबाही नभई बाबुको दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव शिक्षण अस्पतालमै राखिएको छ । आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ ।