पूर्वाञ्चल खबर
कार्यालयले चालु आर्थिक वर्षको कुल लक्ष्य ३१ अर्ब २४ करोड ४८ लाख रहेकोमा असार २० गते भित्र ३१ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भइसकेको छ ।
देशका अन्य मुख्य भन्सार कार्यालयले वार्षिक राजस्वको लक्ष्य नभेटिरहेका बेला विराटनगर कार्यालयले असार मसान्तभन्दा दुई हप्ताअगाडि नै बाजी मारेको हो । कार्यालयले गत आर्थिक वर्ष २०७३÷७४ मा राजस्वको लक्ष्य प्राप्त गर्न सकेको थिएन । सो आवमा २५ अर्ब ८० करोड ४० लाखको लक्ष्यमा कार्यालयले २४ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ असुली गरेको थियो ।
साउन लागेपछि विभागले विराटनगर भन्सारको लक्ष्य संशोधन गर्दै १ अर्ब ५० करोड घटाइदिएको थियो । यसरी संशोधन गरेर २४ अर्ब ३० करोड बनाएपछि कार्यालयले २४ अर्ब ८४ करोड ९९ लाख असुल गरेको हुँदा लक्ष्य पूरा भएको जिकिर गरेको थियो ।
चालु आर्थिक वर्षमा भने लक्ष्य संशोधन र समायोजन केही नगरी लक्ष्य हासिल भएको कार्यालयको दाबी छ । बाढीका कारण मीरगञ्जको पुल भत्किएर चालु आवको गत साउन २८ देखि जेठ महिनासम्म पैठारीमा समस्या उत्पन्न भएपनि राजश्वको लक्ष्य पुरा हुनु उपलब्धिपूर्ण भएको भन्सारको भनाइ छ ।
कार्यालयले चालु आर्थिक वर्षमा भन्सार महसुलतर्फ १३ अर्ब २२ करोड, मूल्य अभिबृद्धि कर १६ अर्ब ९० करोड र अन्तःशुल्क १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा विराटनगर भन्सारको राजस्व सङ्कलनमा सबैभन्दा बढी योगदान मोटरसाइकलले गरेकोमा चालु आवमा हाईस्पिड डिजलले गरेको छ ।
चालु आवको जेठ मसान्तसम्ममा जेठ सम्ममा हाई स्पिड डिजलको पैठारीबाट २ अर्ब ७ करोड रुपैयाँ असुली भएको छ । गत आर्थिक वर्षमा राजस्व योगदानमा पहिलो हुने मोटर साइकल चालु आवमा तेस्रो भएको छ । चालु आवमा हाई स्पिड डिजलपछि चिनीले सबैभन्दा बढी राजस्व दिएको छ । चालु आवको जेठ मसान्तसम्ममा कार्यालयले चिनीबाट १ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ असुल गरेको छ ।
कार्यालयका अनुसार चिनीपछि मोटर साइकलबाट १ अर्ब ३२ करोड ७० लाख, सिआर सिटबाट १ अर्ब १९ करोड, पेट्रोलबाट १ अर्ब १८ करोड र एमएस बिलेटबाट १ अर्ब ११ करोड रुपैयाँ राजश्व असुली भएको छ । यो समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।