पूर्वाञ्चल खबर
उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा आज ५ बजेर ३५ मिनेटमा निधन भएको हो । अस्पतालले साँझमा विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो । गत हप्ता डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा सात महिना स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य तथा चिकित्सा शिक्षा सेवामा धेरै राम्रा कामको सुरुवात गरेका थिए । उनले स्वास्थ्यमन्त्री हुँदा नेपालमै सरकारी तहबाट विशेषज्ञ चिकित्सकहरू उत्पादन गर्न अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बनाए। यसपछि नेपालमै विशेषज्ञ डाक्टर उत्पादन सुरु हुने बाटो खोलिदिए ।
देशको दुर्गम भेगमा विशेषज्ञ चिकित्सक नपुगेको बेलामा त्यसै बेला दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्र्याजुएट (पिजी) निःशुल्क पढ्न सरकारी छात्रवृत्ति पाउने निर्णयले हाल सरकारी चिकित्सक गाउँ जान तँछाडमछाड गर्ने अवस्था आएको छ ।
देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।