AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल पत्रकार महासंघ प्रदेशको निर्वाचन दलहरूकालागि दिशानिर्देश बन्न सकोस्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७५, शुक्रबार २०:१५
3
Shares
तिलकुमारी शर्मा
तिल कुमारी शर्मा
श्रमजीवी व्यवसायीक पत्रकारहरुमा संयुक्त आव्हान !
साझा र समावेशी उम्मेदवारहरूलाई अत्यधिक मतदान !! भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघ प्रदेशको निर्वाचन यही बैशाख २२ गते शनिबारका दिन हुन गइरहेको छ। यो निर्वाचन प्रदेशको भए पनि आ–आफ्नै जिल्लामा मतदान गर्न पाउने व्यवस्था गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पहिलो पटक हुन लागेको यो प्रदेश निर्वाचनले एउटा महत्वपूर्ण र एकदमै नयाँ सन्देश बोकेको छ।

विगतका निर्वाचन र यस पटकको निर्वाचन विलकुलै नयाँ,फरक र उदाहरणीय तरिकाले प्रयास भएको छ। राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भनेर जन नेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त आज पनि उत्तिकै मर्मका साथ प्रयोगमा आएको पाइन्छ। सोही मर्म अनुसार यस पटक नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचनकालागि गरिएको प्रयासलाई सबैले प्रशंसा र सहयोग गरी सफल पार्न जरुरी छ।

हुन त शुरुका दिनमा थोरै पत्रकार भएका कारण सहमति मै समिति बन्थ्यो । बिस्तारै बिस्तारै पत्रकारको संख्या बढ्दै जान थालेपछि राजनीतिक आस्थाका आधारमा संगठन खोलिए । संगठन खोलेपछि संगठन प्रतिस्पर्धामा आउनै पर्दछ भन्ने भावनाको विकास हुनु स्वाभाविक पनि थियो । इतिहास पल्टाएर हेर्दा विगतका निर्वाचनहरुमा प्रत्येक संगठनहरु सँधै एकापसमा शत्रुको व्यवहार गरी आफु आफु नै उम्मेदवारी दिन्थे। पत्रकारिता क्षेत्रका दुई ठूला संगठनहरु प्रेस चौतारी नेपाल र प्रेस युनियनबीच सँधै प्रतिस्पर्धा हुन्थ्यो ।

अग्रज पत्रकारहरुले त त्यतिबेला पनि एकता गरेर सबैलाई मिलाएर उठाउने प्रयास गरेकै हुन्। तर सबैलाई ठूलै पद चाहिने र कोही अलिकति पनि तल झर्न मान्दैनथे। आफ्नो सांगठानिक स्वरुप सानै भए पनि पद ठूलै चाहिने, नपाए एक्लै लड्ने धम्की दिने अनि मासु, रक्सी र पैसाको खोलो बगाउने चलन बन्थ्यो। विराटनगरका होटलहरुमा पनि राम्रै आम्दानी बढाइदिने चलन थियो। मेरो गोरुको बाह्रै टक्का गर्ने प्रवृत्तिले गर्दा एक्ला एक्लै चुनाव लड्नु पर्ने वाध्यता हुनपुग्थ्यो।

पछिल्लो समयमा खासगरी प्रजातन्त्रको पुनर्बहालीपछि नेकपा माओवादी खुलेर राजनीतिमा आइसकेपछि एकताको शुरुवात भएको पाइन्छ भन्दा फरक नपर्ला। ठूला ठूला दुई संगठन बीचको प्रतिस्पर्धामा सानो आकारमा रहेको नेकपा माओवादी समर्थक तत्कालीन क्रान्तिकारी पत्रकार समूह हाल(प्रेस सेन्टर) आफुले मागेको भाग जता पाइन्छ त्यतैतिर टाँसिन पुग्थे। यसरी टाँसिने क्रममा कहिले प्रेस चौतारी नेपालसँग त कहिले प्रेस युनियनसँग टाँसिन्थे। उनीहरु जसरी भएपनि आफ्नो सिट सुरक्षित गर्न तर्फ लाग्थे। जिल्लामा प्रेस चौतारी नेपालसँग टाँसिएको प्रेस सेन्टर केन्द्रीय अधिवेशनमा गएर प्रेस युनियनसँग टाँसिन पछि पर्दैनथ्यो।

छुट्टा छुट्टै संगठनको तर्फबाट चुनाव लड्दा एकातिर प्रतिस्पर्धी भावना जागृत हुने, एकापसमा बोलचाल बन्द हुने, आफ्ना एजेन्डा राख्नुभन्दा पनि प्रतिस्पर्धीको बिरोध र खोट देखाउन पछि नहट्ने, मतदाता किनबेच हुने, अनावश्यक पैसा खर्च हुने, भ्रष्टाचार बढ्ने र कमाइखाने भाँडाको रुपमा निर्वाचनलाई लक्षित गर्ने परम्परा थियो। जुन परम्पराले पत्रकार महासंघको इज्जत र प्रतिष्ठामा आँच पुगेको थियो। तर यस पटक यो परम्परा तोडिएको छ। इतिहासको पाना पल्टाएर हेर्दा दुई ठूला शक्तिहरू मिलेर चुनाव लडेको कमै पाइएला। तर यस पटकको निर्वाचनले भने इतिहासको नयाँ अध्याय शुरु गरेको छ त्यसैले चारैतिर फर्किएका तिनवटा ठूला संगठनहरु बीच सहमति जुटाएर, अनि संयुक्त उम्मेदवार उठाएर । प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवार उठाएर सन्देश मात्र दिएका छैनन् राजनीतिक दललाई नयाँ गोरेटो पनि कोरिदिएका छन् ।

जुटे बन्छ, फुटे बिग्रन्छ। मिलेमतो र एकताले बिग्रेको कुरा बनाउन सकिन्छ। तर फुट र विग्रहले सप्रेको कुरा पनि बिग्रन्छन्। जसका जिउँदा साँछी राजनीतिक दलहरूलाई लिन सकिन्छ। त्यसैले एक ढिक्का भइ मिलेर बनाउन जुटेका बेला सबैले साथ सहयोग र हिम्मत दिन जरुरी छ।
तीनवटा विचार लिएका ठूला राजनीतिक दलका यि भातृ संगठनहरु पनि चारतिरै फर्केर भएपनि नेपाल पत्रकार महासंघका निर्वाचनहरुमा भाग लिएका सदस्यहरुलाई साझा भएर उठ्न अनौठो लाग्नु र चित्त नबुझ्नु स्वभाविक हो। किनकि प्रत्येक संगठनले आ-आफ्नो उम्मेदवार उठाउँदा उम्मेदवार धेरैले बन्न पाउँनेथिए। सबैलाई आफुले जित्छु नै भन्ने लाग्छ। टिकट पाउनु पनि एउटा उपलब्धी नै हो भन्नेहरुको समूह पनि निकै ठूलै होला। त्यसैले साझा उम्मेदवार उठाउँदा एकातिर आफ्नो भाग खोसिएको भनेर गुनासो हुन सक्छ अर्का्तिर साझा उम्मेदवारको स्वभाव र आचरण मन नपर्न सक्छ। त्यति मात्र होइन अघिल्ला निर्वाचनहरुमा सक्दो विरोध गरेका साथीहरुलाई अचानक भोट दिनुपर्दा हत्तपत्त हात नलाग्ला। त्यस्तो हुनु स्वभाविक नै हो। साझा उम्मेदवारको प्रयासको शुरुवात र पहल गर्न कसैको स्वार्थ पनि हुनसक्छ। तैपनि साझा मुद्दाकालागि साझा उम्मेदवारको जुन प्रयास भयो त्यसलाई सबैले सकारात्मकरुपमा लिएर स्वीकार्न सके अति उत्तम हुनेथियो भन्ने लागेको छ ।

किनभने विभिन्न आस्था बोके पनि काम गर्ने संचारमाध्यम साझा छन्। चिया खाने पसल साझा हुन् । विवाहमा जन्ती जान र मरेका ठाउँमा मलामी जान अनि समवेदना प्रकट गर्न पनि साझै तरिकाले जाने चलन छ। कहिलेकाहीँ साथीलाई समस्या पर्दा समाचार पनि साझै होला ! फरक आस्था बोकेका साथीहरू नै भएपनि दुःख सुखका कुराकानी व्यक्त गरिन्छ नै होला ! एउटै यात्रा पनि भएकै छ। यतिका कुरामा साझा भैसकेपछि चुनावमा उम्मेदवार साझा बनाउँदा के आपत्ति?

अर्को कुरा आखिर चारैतिर फर्किएर भए पनि पत्रकारितासँग सम्बन्धि सबै संगठनहरुले पत्रकारको पेशागत र भौतिक सुरक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन,समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउने,पत्रकारको क्षमता र दक्षता अभिवृद्धिकालागि आदी आदी विषयमा आवाज उठाउने र प्राप्तिका लागि लड्ने भन्ने नै मूल उद्देश्य हो। त्यसो भएपछि मुद्दा पनि साझा नै त भए नि !
त्यसैले चारैतिर फर्किएका पत्रकारसँग सम्बन्धित संगठनहरु एकैतिर फर्किएर साझा मुद्दाकालागि साझा उम्मेदवार किन नबनाउने ?
यसकारण यो कदम र पहल उचित छ भन्ने लागेको छ।

साझा प्रतिबद्धताका साथ उठेका साझा उम्मेदवारहरुले जित्दा निम्न फाइदाहरू हुन्छन् भन्ने मेरो निष्कर्ष छ।

* एउटै संगठनले जित्दा पत्रकार हक हितकैलागि राम्रो काम गरेपनि सहयोग र हौसलाको सट्टा सँधै खोट लगाउने र विरोध गर्ने प्रवृत्तिको अन्त्य हुनेछ ।
*नेपाल पत्रकार महासंघ सबैखाले आस्था राख्ने पत्रकारको साझा संस्था भएकाले यसलाई सबैको साझा बनाएर लैजान नै उत्तम हुन्छ।
*सबैको प्रतिनिधित्व भएको खण्डमा एकपक्षीय भएको आरोप लाग्ने खतराबाट मुक्त हुन्छ।
* सबैखाले विचारबाट उत्पन्न भएको निर्णय नै उत्तम र सर्वस्वीकार्य हुन्छ।
*सहमतिमा साझा उमेदवार उठाएपछि सहज सरल र कम खर्चिलो निर्वाचन प्रणालीको विकास हुन्छ ।
* आफ्ना पक्षीय उम्मेदवारलाई जिताउन जुनसुकै उपाय र विधी अपनाउन पनि तयार हुनुपर्ने वाध्यता नहुने ।
* मित्रता टुट्नुको सट्टा मित्रताको गाँठो अझ कसिलो बन्ने।
* उम्मेदवार र उम्मेदवारका संगठनका बिचमा भ्रमको खेती गर्नेहरु सलबलाउन नपाउने ।
* निर्वाचनका नाममा अनावश्यक रकम उठाएर भ्रष्टाचार गर्न नपाउने आदी आदी ।

देशमा हुने राजनीतिक दल, तिनका भातृ संगठनहरु, बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरूमा हुने निर्वाचनहरु यसरी नै भइदिए अनावश्यक रुपमा खर्च गरिने ठूलो धनराशिको नोक्सान बेहोर्नुपर्ने थिएन।

पत्रकार भनेको समाजको ऐना हो। पत्रकारहरु आफ्नो पेसाप्रति इमान्दार र बफादार भएको खण्डमा समाजको रुप छर्लङ्ग आफ्नो पेसामा देखाउन सक्छन्। जुन सबैको मार्ग्निर्देश बन्दछ। त्यस्तै यस पटकको पत्रकार महासंघ प्रदेशको निर्वाचन पनि सबैको मार्ग्निर्देश बन्न सकोस्। पूर्वबाट झुल्किएको घामबाट नै दिनको शुरुवात हुन्छ। नेपाल पत्रकार महासंघ प्रदेशले नयाँ चलनको विकास, प्रयास र शुरुवात गरेको छ। यो प्रयास आगामी दिनमा हुने हरेक निर्वाचनमा देशैभरी छाओस् र देशको आर्थिक समृद्धिकालागि टेवा पुग्न सकोस् । यो निर्वाचन राजनीतिक दलहरुकालागि दिशानिर्देश बन्न सकोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर