जग्गा हडप्न छिमेकीले श्रीमानको हत्या गरेको श्रीमतीको दावी, प्रहरी भन्छः आत्महत्या हो

खबर पूर्वाञ्चल, २३ कार्तिक २०७७, आईतवार ०८:४७

विराटनगर / विराटनगर महानगरपालिका १६ दरैया बस्तीको चौठीटोलमा बस्ने करनीदेवी ऋषिदेवेले जग्गा हडप्न खोज्नेहरुले आफ्ना ३० वर्षीय श्रीमान राजेश ऋषिदेवको हत्या गरेपनि उनीहरुलाई कुनै कानूनी कार्वाही नभएको गुनासो गरेको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ ।

मजदुरी गरेर कमाएको पैसाले टोलमा जोडेको एक कठ्ठा ऐलानी र ४ धुर नम्बरी जग्गामा स–परिवार बसोवास गर्दै आएकोमा श्रीमान राजेशको गत असार १९ गते छिमेकीहरुले कुटपिट गरेर हत्या गरेको २७ वर्षीया करनीदेबीको दाबी छ ।

पीडितको अनुसार छिमेकी गंगवा मण्डलले सो जग्गामा दाबी गर्दै आएका थिए । सोही विषयमा गत असार १९ गते जग्गा नापी भएको थियो । नापी गर्ने क्रममा ऋषिदेव परिवारको जग्गामा भएको घर आफ्नो भन्दै छिमेकी मण्डलले भत्काउन दबाब दिएका थिए । सोही दिन ऋषिदेव परिवारको घर अगाडि भएको दिनाभद्री भगवानको मन्दिर पनि उनीहरुले भत्काइदिएका थिए ।

आफूले रगत पसिना बगाएर जोडेको घर भत्काउन भनेपछि डकर्मीको काम गर्ने राजेशले प्रतिबाद गरेका थिए । सानो जति भएर बढी मुख चलाएको र भनेको नमानेको भन्दै छिमेकीहरु कन्हैया मण्डल, देवान मण्डल, गंगवा मण्डल, हरेराम र अनिल मण्डलले मरणासन्न हुनेगरि कुटपिट गरेकोमा राजेशलाई सोहि दिन घरभित्रको कोठामा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

परिवारले छिमेकीकै कुटाइबाट राजेशको हत्या भएको र पछि कोठामा लगेर झुण्ड्याएको दाबी गर्दै किटानी जाहेरी दर्ता गराउन खोजेपनि प्रहरीले आधार र प्रमाण नभएको भन्दै किटानी जाहेरी दर्ता गर्न मानेन । प्रारम्भिक अनुसन्धानमै प्रहरीले घटनालाई आत्महत्या बताएको पीडितको गुनासो छ ।

प्रहरीले राजेशको मृत्यु आत्म हत्याकै कारण भएको र हत्याको कुनै प्रमाण फेला नपरेको जनाएको छ । घटनाको अनुसन्धान गरेका इलाका प्रहरी कार्यालय रानीका प्रहर िनिरिक्षक दिपक थापाले जग्गाको झगडामा कुटपिटमा घाइते भएपछि बैरागिएर राजेशले घरभित्र पसेर दैलो थुनेर आफै झुण्डिएर आत्महत्या गरेको दावी गरे ।

मृतकको पोष्टमार्टम रिपोर्टमा पनि झुण्डिएर मृत्यु भएको भन्ने आएको प्रहरीले जनाएको छ । पोष्टमार्टमा प्रतिबेदनमा मृतक राजेशको शरिरमा कुटपिटको चोटपटक पाइएको थियो । तर, प्रहरीले त्यसमा पनि कुनै कार्वाही चलाएन ।

श्रीमानको मत्युपछि श्रीमती करनीदेबी ११, ९ र ७ वर्षका तीन जना छोराको बनिबुतो गरेर लालन पालन गरिरहेकी छिन् । उनका अनुसार उनलाई गाउँमा बस्न पनि एकदमै असुरक्षा छ । रोजगारी नहुँदा छोराछोरी भोकभोकै सुत्न बाध्य छन् । उनले घटनाबारे सुक्षम छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोग र सरकारसँग आग्रह गरिरहेकी छिन् ।

जग्गा हडप्न खोज्नेहरुले श्रीमानलाई रडले टाउकोमा हानेर मरणासन्न कुटेको र घरभित्र ल्याएर झुण्ड्याइदिएको करिनाको दावी छ । श्रीमानको मृत्यु शोकले विक्षिप्त बनेकी उनी आजकल दलित संघसँस्थाहरुले आयोजना गरेको कार्यक्रम र बैठकहरुमा पुगेर रुँदै आफ्नो दुखेसो सुनाउने गर्छिन् ।

मुसहर संघ, मोरङका अध्यक्ष जितेन्द्र ऋषिदेव पनि राजेशको मृत्यु झुण्डिएर नभै कुटपिटबाट नै भएको दाबी गरे । प्रहरीलाई पटक–पटक अपराधिक घटना हो, गम्भीर अनुसन्धान गर्नुहोस् भनेर अनुरोध गरेपनि प्रहरीले वास्ता नगरेको उनको आरोप छ ।

मरणासन्न हुनेगरी कुटपिट गर्नेहरुलाई पक्राउ गरेर हत्या प्रयास वा आत्म हत्या दुरुत्साहन आरोपमा मुद्दा पनि दर्ता गर्नुपर्नेमा प्रहरीले त्यसो नगरेको पीडित परिवराको भनाइ छ । पोष्टमार्टम रिपोर्टमा कुटपिट भएको स्पष्ट खुलेको भएपनि प्रहरीले कसैलाई पक्राउसमेत नगरेको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५